कृषि, पर्यटन र पूर्वाधारमा जोड्दै म्याग्देको नीति तथा कार्यक्रम पारित
म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ। गाउँपालिकाको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको छ।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा “आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पूर्वाधार” भन्ने मूल नारालाई आत्मसात गरिएको छ। कार्यक्रममा कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार, ग्रामीण सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, पर्यटन प्रवर्द्धन तथा स्थानीय उद्यम विकासका योजनाहरू समावेश गरिएका छन्।
त्यस्तै, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यले नीति तथा कार्यक्रम तर्जुमा गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे ले नीति तथा कार्यक्रमले गाउँपालिकाको समग्र विकासलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी ले नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकले प्रत्यक्ष लाभ अनुभूति गर्ने वातावरण निर्माण गरिने बताउनुभयो।
पारित नीति तथा कार्यक्रम कार्यान्वयनसँगै कृषि उत्पादन, रोजगार सिर्जना, पर्यटन विकास तथा आधारभूत पूर्वाधार विस्तारमा उल्लेखनीय उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।




























