पत्रकार विकास खनाल सम्मानित
तनहुँको म्याग्दे गाउँपालिका–४ ले पत्रकार विकास खनाललाई सम्मान गरेको छ। वडाका विकास निर्माणका गतिविधि तथा समसामयिक विषयवस्तुलाई निरन्तर सञ्चार माध्यममार्फत् उजागर गर्दै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै वडा अध्यक्ष दीपककुमार श्रेष्ठले एक कार्यक्रमबीच खनाललाई सम्मान गर्नुभएको हो।
सम्मान कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो।
तनहुँ प्रेसका कार्यकारी सम्पादक तथा प्रकाशक खनाल यसअघि पनि पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि विभिन्न संघसंस्था तथा निकायबाट सम्मानित एवं पुरस्कृत भइसक्नुभएकाे छ । उहाँलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

म्याग्दे गाउँपालिका–४ मा सञ्चालित पाँचदिने अचार तथा धूपबत्ती बनाउने तालिमको समापन समारोहको अवसर पारेर खनाललाई सम्मान गरिएको हो। कार्यक्रममा वक्ताहरूले स्थानीय विकास, सामाजिक गतिविधि तथा जनसरोकारका विषयलाई प्रभावकारी रूपमा सञ्चार माध्यममार्फत् प्रस्तुत गर्दै आएकोमा खनालको योगदानको प्रशंसा गरेका थिए।



























