बागबजार टोल विकास संस्थाको अधिवेशन सम्पन्न , अध्यक्षमा सुमन
तनहुँको व्यास नगरपालिका–२ स्थित बागबजार टोल विकास संस्थाको अधिवेशन सम्पन्न भएको छ। व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने को प्रमुख आतिथ्यता तथा वडा नं. २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ को विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा नं. २ का वडा सदस्यहरू लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
बागबजार सामुदायिक भवन निर्माण समितिकी संयोजक बिन्दु गुरुङ को अध्यक्षतामा सम्पन्न अधिवेशनले बागबजार टोल विकास संस्थाको अध्यक्षमा सुमन श्रेष्ठ लाई सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट संस्थाका अन्य पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गरिएको संस्थाले जनाएको छ।
त्यसैगरी, आमा समूहको अध्यक्षमा बिन्दु गुरुङ चयन हुनुभएको छ। कार्यक्रममा बोल्ने अतिथिहरूले टोल विकास संस्थाले स्थानीय समुदायलाई एकताबद्ध गर्दै विकास निर्माणका गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए। उनीहरूले सामुदायिक सहकार्य, सामाजिक सद्भाव र स्थानीय विकासका अभियानलाई थप प्रभावकारी बनाउन नवनिर्वाचित नेतृत्व सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।

नवनिर्वाचित पदाधिकारीहरूले टोलवासीको विश्वासलाई सम्मान गर्दै संस्थालाई अझ सक्रिय, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनले आगामी कार्यकालका लागि टोल विकास तथा सामुदायिक हितका विभिन्न योजना अघि बढाउने अपेक्षा गरिएको छ।



























