माझफाँट पुरुषोत्तम महायज्ञको आय–व्यय सार्वजनिक, २८ लाख ३५ हजार बचत
दमौली, असार ७ – व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा सम्पन्न श्रीमद् पुरुषोत्तम महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। महायज्ञ मूल आयोजक समितिले सार्वजनिक गरेको विवरणअनुसार महायज्ञबाट कुल ४३ लाख ७४ हजार ३४७ रुपैयाँ आम्दानी भएको छ भने १५ लाख ३८ हजार ५३१ रुपैयाँ खर्च भएको छ। खर्च कटाएपछि २८ लाख ३५ हजार ८१६ रुपैयाँ बचत भएको समितिले जनाएको छ।
मन्दिर संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा पञ्चमन्दिर निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले जेठ २४ गतेदेखि सञ्चालन भएको महायज्ञ ३१ गते सम्पन्न भएको थियो। महायज्ञ अवधिभर कथा वाचन, धार्मिक अनुष्ठान तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिएका थिए। यस अवधिमा माझफाँट क्षेत्र भक्तिमय बनेको थियो भने दैनिक रूपमा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो।
महायज्ञका क्रममा विभिन्न व्यक्ति, परिवार, आमा समूह, युवा क्लब तथा संघसंस्थाहरूबाट उल्लेखनीय आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको थियो। साथै महायज्ञमा ८ आना जग्गासमेत दान प्राप्त भएको आयोजक समितिले जनाएको छ। उक्त जग्गा नगद आम्दानीमा समावेश नगरिएको र मन्दिरको सम्पत्तिका रूपमा संरक्षण गरिने जनाइएको छ।
महायज्ञबाट प्राप्त बचत रकम मन्दिर संरक्षण, धार्मिक पूर्वाधार विकास तथा प्रस्तावित पञ्चमन्दिर निर्माणमा खर्च गरिने समितिले जनाएको छ। आय–व्यय विवरण सार्वजनिक गर्दै समितिले सम्पूर्ण आर्थिक कारोबार पारदर्शी ढंगले सञ्चालन गरिएको स्पष्ट पारेको छ।
महायज्ञ सफल बनाउन सक्रिय रूपमा खटिएका व्यास नगरपालिका–९ का वडा सदस्य सन्तोष जिसीका अनुसार धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धिसँगै मन्दिर विकासका लागि आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञले अपेक्षाभन्दा राम्रो उपलब्धि हासिल गरेको छ। उनले स्थानीयवासी, युवा, आमा समूह, समाजसेवी, दातालगायत सम्पूर्ण सहयोगीहरूको सक्रिय सहभागिता र योगदानका कारण कार्यक्रम सफल भएको बताए।

समापन समारोहमा व्यास नगरपालिकाका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष सुरेश थापाले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रवर्द्धनमा यस्ता महायज्ञको महत्वपूर्ण भूमिका रहने बताएका थिए। माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष बामदेव न्यौपानेले भक्तजनहरूको उत्साहजनक सहयोगका कारण महायज्ञ सफल भएको बताउँदै प्राप्त रकम र सम्पत्तिको सदुपयोग मन्दिर विकासमा गरिने जानकारी दिएका छन्।



























