देवघाट गाउँपालिकाले ल्यायो ५५ करोड ५८ लाख ६७ हजारको बजेट
तनहुँ । देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५५ करोड ५८ लाख ६७ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले गाउँसभाको अधिवेशनमा बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ३९ करोड १७ लाख ५० हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ १६ करोड ४१ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटले विकास निर्माण, सेवा प्रवाह तथा आर्थिक–सामाजिक क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ।
बजेटका लागि संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ८ करोड ३२ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ४५ लाख ३४ हजार, सशर्त अनुदान चालुतर्फ २२ करोड ५६ लाख ३२ हजार तथा पुँजीगततर्फ १ करोड १२ लाख रुपैयाँ समावेश गरिएको छ। यस्तै संघीय विशेष अनुदानबाट ८६ लाख र समपूरक अनुदानबाट ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९७ लाख १ हजार, विशेष अनुदान ४० लाख, समपूरक अनुदान ६० लाख तथा राजस्व बाँडफाँडबाट ६० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। गाउँपालिकाले आन्तरिक आयबाट ८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य पनि राखेको छ।
यसअघि गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “सुन्दर, समुन्नत र समृद्ध देवघाट” निर्माण गर्ने दीर्घकालीन संकल्प व्यक्त गरिएको थियो। नीति तथा कार्यक्रममा दिगो विकासका राष्ट्रिय लक्ष्यलाई स्थानीयकरण गर्दै नागरिकका आधारभूत आवश्यकता परिपूर्ति, धार्मिक पर्यटन प्रवर्द्धन, गुणस्तरीय पूर्वाधार निर्माण, कृषिमा आत्मनिर्भरता, आयआर्जन वृद्धि तथा स्वरोजगार सिर्जनालाई प्रमुख प्राथमिकतामा राखिएको छ।

साथै स्थानीय स्रोतसाधनको पहिचान र परिचालन गर्दै सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रबीच साझेदारीमार्फत समावेशी र दिगो आर्थिक विकास हासिल गर्ने लक्ष्य गाउँपालिकाले अघि सारेको छ। बजेट तथा कार्यक्रममार्फत विकास, सेवा प्रवाह र आर्थिक समृद्धिलाई थप गति दिने अपेक्षा गरिएको छ।



























