भानु नगरपालिकाको १८औँ नगरसभा सम्पन्न, ८४ करोडभन्दा बढीको बजेट प्रस्तुत

भानु नगरपालिकाको १८औँ नगरसभा सम्पन्न, ८४ करोडभन्दा बढीको बजेट प्रस्तुत


तनहुँ, असार १० । भानु नगरपालिकाको १८औँ नगरसभा बुधबार नगर प्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गरिएको हो।
नगर प्रमुख त्रिपाठीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, मत्स्य विकास, पर्यटन, शिक्षा तथा बालमैत्री स्थानीय शासनलाई प्राथमिकता दिइएको छ। कृषकलाई उत्पादनमा आधारित अनुदान, दुग्ध उत्पादनमा प्रतिलिटर ५ रुपैयाँ अनुदान, पशु स्वास्थ्य शिविर सञ्चालन, पशु बीमा कार्यक्रम सुदृढीकरण तथा मत्स्यपालन सम्बन्धी प्राविधिक तालिम प्रदान गरिने उल्लेख गरिएको छ। साथै भानु नगरपालिका र रोंग गाउँपालिकाबीच कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा भएका असल अभ्यासलाई कार्यान्वयन गरिने जनाइएको छ।
पर्यटन प्रवर्द्धनतर्फ आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै “जीवनमा एक पटक त अवश्य जाऔँ, भानुभक्तको घरआँगन रमाऔँ” अभियानलाई अगाडि बढाइने नीति लिइएको छ। नगरपालिकाको पहलमा संघीय सरकारबाट आदिकवि भानुभक्तको जन्मस्थल विकासका लागि विनियोजित २४ करोड रुपैयाँको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न सरोकारवालासँग आग्रह गरिएको छ।
शिक्षा क्षेत्रमा स्थानीय पाठ्यपुस्तक “हाम्रो भानु” लाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने, कक्षा ६ सम्मका विद्यार्थीका लागि दिवा खाजामा थप बजेट व्यवस्था गरिने तथा चालु आर्थिक वर्षमा कम्तीमा तीन वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखिएको छ।
नगर उपप्रमुख उमा गोतामेले आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ३८ लाख ९० हजार ५ सय ६८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो। कुल बजेटमध्ये ५७ करोड ८८ लाख ९० हजार ५ सय ६८ रुपैयाँ (६८.५९ प्रतिशत) चालु खर्च तथा २६ करोड ५० लाख रुपैयाँ (३१.४ प्रतिशत) पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
सभामा विभिन्न विषयगत समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उपलब्धि, समस्या, चुनौती तथा अवसरबारे जानकारी गराएका थिए। साथै सुशासन समितिको सिफारिसका आधारमा उत्कृष्ट कार्यसम्पादन गरेका विभिन्न शाखाका १९ जना राष्ट्रसेवक कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page