आदिकविमा गुरुङ भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले गुरुङ भाषा, साहित्य, कला तथा संस्कृति वर्ष २०२६ अन्तर्गत सञ्चालन गरेको ७औँ तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ।
शुक्रबार आयोजित समापन तथा प्रमाणपत्र वितरण समारोहमा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आदिवासी जनजातिको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा क्याम्पसले उदाहरणीय भूमिका खेलेको बताउनुभयो। उहाँले यस क्षेत्रमा अनुसन्धानमूलक कार्यक्रम विस्तार गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
समितिका संयोजक ठाकुरबहादुर दरैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, क्याम्पस सञ्चालक समिति, शिक्षक, प्रशिक्षक तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा बालकाशी गुरुङ र शान्त बास्तोलालाई सम्मान पनि गरिएको थियो।
असार २० गतेदेखि सञ्चालन भएको निःशुल्क तालिममा देवघाट, आबुखैरेनी, व्यास, शुक्लागण्डकी र बन्दीपुरका ३२ जना गुरुङ युवा (२५ महिला र ८ पुरुष) सहभागी भएका थिए, जसमध्ये १० जना आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थी थिए। तालिममा भीमप्रसाद गुरुङ, हरिसिंह गुरुङ, बालकाशी गुरुङ र खिमा गुरुङले प्रशिक्षण दिनुभएको थियो।

सहभागीहरूले तालिमले तमु भाषा, लिपि र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्नुका साथै समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण योगदान पुगेको बताएका छन्।


























