मुकुन्देश्वरी मन्दिर निर्माणमा जुट्दै स्थानीय:
मुच्चुक/मुकुन्देश्वरी मन्दिर र सेनवंसिय दरवार निर्माण तथा संरक्षण समितिले प्रदेश र स्थानीय सरकारलाई मन्दिर परिसरमै जुटाएर गरेको एक औपचारिक कार्यक्रममा १६औं शताब्दीमा स्थापना भएको विश्वास गरिएको मुकुन्देश्वरी मन्दिर अर्को बर्ष व्यवस्थित गर्ने संकल्प गरेको छ ।


२०८१ सालको बैशाख ४ गते परेको चैते दशैंको पुजाअर्चना प्रदेश मन्त्री हरिबहादुर चुमानबाट सम्पन्न भएपछि आयोजित औपचारिक कार्यक्रममा गण्डकी प्रदेश सरकारका मन्त्री हरिबहादुर चुमानले डिपीआर गर्ने तिर भन्दा सिधै विकास निर्माण गर्दा कम खर्च लाग्ने सुझाव दिंदै बन्दिपुर गाउँपालिकाले मुकुन्देश्वरी मन्दिर निर्माणको उचित व्यवस्थापनका लागि एक नम्बर प्राथमिकतामा पारेर योजना सिफारिस गरेमा त्यो योजना गण्डकी प्रदेश सरकारबाट स्वीकृत गराउने विश्वास दिलाएका थिए ।


कार्यक्रममा बन्दिपुर गाउँपालकिाका अध्यक्ष सुरेन्द्र थापाले मुकुन्देश्वरी मन्दिर र पुरातात्विक महत्वको सेनवंशिय दरवारको संरक्षण गर्नुपर्नेमा आफू प्रतिबद्ध रहेको चर्चा गर्दै प्रदेश सरकारसंग डिपीआर गराईदिन आग्रह गरेका थिए । वडा नं. २ का वडाध्यक्ष तिलक ब कुवारले मुकुन्देश्वरी मन्दिरको व्यवस्थापनका लागि वडाबाट हुन सक्नेसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रममा सक्रिय सहभागिता जनाएका बरिष्ठ अधिवक्ता परशुराम गिरी, बन्दिपुर गाउँपालिकाका पूर्व अध्यक्ष पूर्णसिं थापा, पूर्व प्रधानपञ्च एवं गुरुङ्ग धर्म संस्कृतिका विज्ञ मोतीलाल गुरुङ्ग, हरिशरण पण्डित, नेपाली काँग्रेस तनहुँका पूर्व कोषाध्यक्ष रेशमलाल गुरुङ्ग पत्रकार अ्मर राज नकर्मी, इन्द्र ब दरै , रिषिराम पोखरेल समेत सबैले एक स्वरले मुकुन्देश्वरी देवी महिमाको चर्चा गरेका थिए ।

दुःख कष्टमा परेका भक्तजनको उद्धार गर्ने र भक्तजनको मनोकाँक्षा पुरा गरिदिने शक्ति भएकी देवीको यथोचित प्रचार र संरक्षण हुन नसकेको आत्मग्लानी सहभागि सबै भक्तजनमा झल्किन्थ्यो ।
मुकुन्देश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिको विशेष आमन्त्रणमा चैतें दशैं रामनवमीको अवसरमा मुकुन्देश्वरी मन्दिरको दर्शन गर्नका लागि सबै भक्तजनहरुले देवीको दर्शन गर्नुका साथै फुल तथा नगद भेटी चढाई त्यहाँ रहेको सेनबंशीय दरबार र दरबार परिसरमा रहेको टुडिखेल समेतका भग्नावसेसको अवलोकन गरेका थिए ।

मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण तथा संरक्षण समिति बन्दिपुर–२ मुच्चुकका अध्यक्ष सुकुमलाल गुरुङले प्रदेश सरकार र स्थानीय सरकारलाई साक्षी राखेर कार्यक्रमको समापन गर्दै गण्डकी प्रदेश र बन्दिपुर गाउँपालिका सरकार एवं भक्तजन, धार्मिक आस्था भएका चन्दादाता, दानवीर व्यक्तिहरुको सहयोगमा अर्को बर्षको चैते दशैंसम्ममा मन्दिरको मुहार फेर्ने संकल्प गरे ।


अध्यक्ष गुरुङ्गले सबैको सहयोग जुटाउन मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण तथा संरक्षण समितिको अध्यक्षको हैसियतले आफूले कुनै कमिकमजोरी नदेखाउने बचन बद्धता व्यक्त गर्दै मन्त्री चुमान, पालिका अध्यक्ष , पुर्व अध्यक्ष , इप्रका बन्दिपुर र शसस्त्र प्रहरी वल भानु लाइ अथितिको रुपमा देवीको प्रसाद खुवाएर धन्यवाद सहित विदाई गरेका थिए ।













































