तनहुँका दसबर्से बालकले बनाए बिजुलीबाट चल्ने स्कुटर

तनहुँका दसबर्से बालकले बनाए बिजुलीबाट चल्ने स्कुटर

तनहुँमा एक बालकले १० वर्षकै उमेरमा बिजुलीबाट चल्ने स्कुटर बनाएका छन् । जिल्लाकाे शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित नेपाल पुलिस स्कुल कक्षा ५ मा पढ्ने निश्चल रिमालले यस्तो स्कुटर बनाएका हुन् । सानै उमेरमा आफैँले बनाएर बिजुलीबाट चल्ने स्कुटर चलाएपछि अहिले उनको चर्चा चुलिएको छ । 

प्रविधिमा बढी रुचि राख्ने भएकाले बालकले बिजुलीबाट चल्ने स्कुटर बनाउन सफल भएको नेपाल पुलिस स्कुलका प्रिन्सिपल पुष्पराय क्षेत्रीले बताए । पढाइका साथसाथै बालक अतिरिक्त क्रियाकलापमा ध्यान दिन्छन् । विशेष गरेर इलेक्ट्रोनिक सामान बनाउनमा उनको धेरै रुचि छ ।” पेट्रोलियम आयातमा धेरै रकम खर्च हुने भएकाले बालकले प्रयोग गरेको प्रविधिलाई सरकारले सहयोग गरेर उद्योग स्थापना गर्नुपर्ने सुझाव प्रिन्सिपल क्षेत्रीको छ ।  

स्कुटर बनाएर चर्चा कमाएपछि भेटेर जिज्ञासा राख्ने र बधाई दिनेको भिड लागेपछि बालकका बुवा नारायण रिमाल र लक्ष्मी रिमाल दङ्ग परेका छन् । छोराले युट्युब हेरेर बिजुलीबाट चल्ने स्कुटर बनाउन सक्ने बताएपछि आवश्यक रकम दिएको निश्चलकी आमा लक्ष्मी रिमालले बताइन् ।

परीक्षा दिएर फुर्सदमा बसेको समयमा अनलाइनबाट सामान मगाएर एक हप्ताको अवधिमा स्कुटर बनाएको निश्चलले बताए । स्कुटर बनाउन ७५ हजार रुपियाँ खर्च लागेकाे र आधा घण्टा चार्ज गरेर १० किलोमिटर गुडाउन सकिने उनले जानकारी दिए । भविष्यमा बिजुलीबाट चल्ने कार बनाउने योजना रहेको निश्चल बताउँछन् ।


बालकको क्षमता देखेर हौसला दिन बधाई दिन गएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताए । यस्ता क्षमतालाई प्रोत्साहन गर्नका लागि नगरपालिकाले सबै प्रकारको सहयोग गर्न तयार रहेको नगरप्रमुख पण्डितले जानकारी दिए । निश्चल शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडा बजार निवासी हुन् ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page