एमाले अध्यक्षकाे प्रतिस्पर्धामा तिनवटा ” ल ” काे चर्चा !
नेकपा एमाले तनहुँ जिल्ला अध्यक्षकाे प्रतिस्पर्धामा तिनवटा ” ल ” अगाडि देखिएको छ । पार्टीको १० औं अधिवेशन नजिकिँदै गर्दा अध्यक्षकाे विषयमा तिनवटा ” ल ” अर्थात् विष्णुभक्त सिग्देल, हरिराज कंडेल र राजेश्वर ढकालको बिचमा प्रतिस्पर्धा हुने देखिएपछि तिनवटा ल काे चर्चा भएको हाे । तिनवटा ल बाहेक श्रीराम कार्की अध्यक्षकाे प्रतिस्पर्धामा आउन सक्ने देखिएको छ । कार्की नेकपा एकिकृत समाजवादीको जिल्ला अध्यक्ष नैं परित्याग गरी पुरानाे घर एमालेमा फर्केका नेता हुन् भने कंडेल र ढकाल संस्थापन पक्षका नेता हुन् । यस्तै विष्णुभक्त सिग्देल पार्टीका प्रभावशाली नेताका रूपमा पर्दछन् ।


संसदको दोस्रो ठूलो पार्टी एमाले तनहुँको अधिवेशन नजिकिदै जाँदा समग्र जिल्लालाई यसले तताउँदै लगेको छ।


अध्यक्षका लागि माथि देखिएका ४ जना बाहेक अहिलेसम्म अन्य नेताहरू खुलीसकेका छैनन् । यस्तै सचिवमा प्रदिप अधिकारी, उपसचिवमा बसुन्धरा घर्तीकाे सम्भावना बढी छ । यसपटक पदाधिकारीमा एकजना महिला अनिवार्य राख्नुपर्ने बिधानमा व्यवस्था गरिएको छ ।

अधिवेशनकाे दिन नजिकिँदै गर्दा अध्यक्ष लगायतका पदमा सर्वसम्मत हुन नसकेको खण्डमा फेरी गुट मौलाउन सक्ने कार्यकर्ताकाे चिन्ता छ ।

अधिवेशनका लागी आयोजक १२४ जना, सल्लाहकार १५ जना, मोर्चा संगठनवाट ३२ जना, मुक्ति समाजवाट ४४ जना, पालिकावाट १५ र भुगोलवाट ३३० गरि कुल ५६० प्रतिनिधी रहने बिहीबार एमाले पार्टी कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कुल ७१०६ जना संगठित सदस्य रहेको जिल्ला अधिवेशनको केन्द्रिय महासचिवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पार्टीको अधिवेशनका लागी प्रतिनिधी चयन वैशाख २१ र २२ गते हुने भएको छ ।

नेकपा एमाले दशाैं जिल्ला अधिवेशनकाे लाेगाे सार्वजनिक एवम् पत्रकार सम्मेलन कार्यक्रममा पार्टीका नेताहरू तनहुँ जिल्ला संयाेजक एवं केन्द्रीय सदस्य तिलक महत , जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , प्रचारप्रसार संयाेजक प्रदिप राज अधिकारी तथा पार्टी उपाध्यक्ष हरिराज कंडेलले अधिवेशनकाे बारेमा जानकारी गराएका थिए । नेकपा एमाले तनहुँका प्रचारप्रसार प्रमुख प्रदिप राज अधिकारीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे सञ्चालन ऋषिराम दुवाडिले गरेका थिए ।









































