मजदुर दिवसमा इट्टा उद्योगका बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग:

मजदुर दिवसमा इट्टा उद्योगका बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग:

विश्व मजदुर दिवसको अवसरमा म्याग्दे गाउँपालिका वडा नम्बर २ स्थित माछापुछ्रे इटा उद्योगका कामदारका २६ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। एकीकृत हरित विकास नेपालको आयोजना तथा अम्ब्रेला फाउन्डेसनको सहयोगमा उक्त उद्योगमा काम गर्ने कामदारका विद्यालय जाने बालबालिकाहरूलाई झोला सहित कपी, कलम, सिसा कलम जोमेट्री बक्स, , पेन्सिल, क्यालकुलेटर, एटलस ,कलर बक्स, drawing copy , समेत प्रति विद्यार्थी करिब रु २५०० का दरले पर्नेगरी उक्त सामग्री वितरण गरिएको हो।

माछापुछ्रे इट्टा उद्योगका उद्योगी हर्क गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले बालबालिकाहरूको लागि दैनिक रुपमा आवश्यक पर्ने शैक्षिक सामग्रीले उनीहरूको पठनपाठनमा सहज हुने बताए । पाैडेलले मजदुर दिवसको उपलक्ष्यमा श्रमको श्रद्धा गरौ, श्रमिक एकता कायम गर्दै श्रमिक अधिकारका लागि सबै लागौं भन्दै श्रमिक दिवसको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा सभापतिको तर्फबाट उद्योगी हर्क बहादुर गुरुङले यस सामग्रीले बच्चाहरूलाई दैनिक रुपमा बाआमासँग शैक्षिक सामग्रीको लागि पैसा मागिरहनु पर्ने अवस्थाको अन्त्य गरेको र आफूलाई आवश्यक परेका सामग्रीहरू यस संस्थाले उपलब्ध गराएकोमा बालबालिकाहरूको पढाइलाई निरन्तरता एवं सहज बनाउने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष कमलहरी जिसीले मजदुर दिवसको अवसर पारी कामदारका विद्यार्थीहरूलाई वितरण गर्ने गरी सामान उपलब्ध गराउने अम्ब्रेला फाउन्डेसन तथा सो कार्यमा समन्वय गर्नुहुने सुरेश पण्डितलाइ धन्यवाद व्यक्त गरे । झन्डै ७० जना कामदारले काम गर्ने उक्त उद्योगलाई बालश्रम मुक्त उद्योगको रुपमा स्थापित भई श्रमिकमैत्री वातावरण समेत सञ्चालन गरेको भन्दै विभिन्न निकायहरुले श्रमिकका अधिकारका सबै मापदण्डहरू पूरा भएको certificate समेत प्रदान गरिसकेका छन्।

आफूले प्राप्त गरेको सामग्रीले आफ्नो दैनिक रूपमा चाहिने शैक्षिक सामग्रीहरूको आवश्यकता पूरा भई पढाइमा सजिलो भएको कुरा एलिना थापाले बताइन्। सो शैक्षिक सामग्री वितरण कार्यक्रममा समग्र इट्टा उद्योग ट्रेड युनियनका अध्यक्ष कृष्ण थापा, उद्योगका लेखापाल रामबाबु रेग्मी, सुपरभाइजर हेमलाल पौडेल तथा रेशम सिलवालले समेत वितरित सामग्रीले उद्योगका कामदारका बालबालिकाहरूको पठनपाठनलाई सजिलो बनाउँदै उनीहरुलाई दैनिक रुपमा विद्यालय पठाउनको लागि सहज भएको बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page