तनहुँमा ट्राफिक सप्ताह सुरु
जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा मंगलबार देखि तनहुँमा ट्राफिक सप्ताह सुरु भएको छ ।


ट्राफिक सप्ताहको एक समारोहका बीच प्रमुख अतिथी व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गरेका थिए । ट्राफिक सप्ताह शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख न्यौपानेले ट्राफिक सप्ताहले ट्राफिक नियम पालना गर्न सन्देश प्रवाह गर्ने बताए । सवारी दुर्घटना न्यूनीकरणका लागि यस किसिमका सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने नगर प्रमुख न्यौपानेको भनाई थियो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र प्रहरी प्रमुख अपिलराज बोहराले सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षाकर्मीका अलावा नागरिकको पनि उत्तिकै दायित्व रहेको बताएका थिए । नागरिकले समेत आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने प्रजिअ गौतम र प्रहरी प्रमुख बोहराको भनाई थियो ।

ट्राफिक सप्ताहका अवसरमा दमौलीको अनसन चोकबाट प्रभातफेरी समेत निकालिएको थियो ।प्रभातफेरीमा जनप्रतिनिधि ,सरकारी कर्मचारी , प्रहरी ,शिक्षक ,विद्यार्थी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । ट्राफिक सप्ताह अन्र्तगत सदरमुकाम दमौली र जिल्लाका विभिन्न भागमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी प्रमुख सन्तोष पौडेलले बताए । ट्राफिक प्रहरी प्रमुख पौडेल सप्ताहको मुख्य उदेश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु नै भएको बताएका छन् ।


























