म्याग्देकि अनिशाकाे शव १६ दिनदेखि अस्पतालमा,श्रीमान सहित ३ जना थुनामा
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ३ स्थित धयेरेकि अनिशा लामिछानेको शव १६ दिनदेखि गण्डकी अस्पतालमा रहेको छ । बैशाख १५ गते आफ्नै घरमा मृत भेटिएकि लामिछानेकाे मृत्युु सम्बन्धमा घटना रहस्यमय भएको भन्दै माइती पक्षलाई शंका लागेपछि शव लामो समयदेखि अस्पतालमा रहेको हाे ।


उनको मृत्यु सम्वन्धमा अनुसन्धानकाे लागि मृतक लामिछानेको श्रीमान , सासु र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घरको काेठामा पंखामा झुन्डिएर आत्महत्या गरेको परिवार पक्षको भनाइ छ भने माइती पक्षले घटना नियाेजित भएको र यसमा परिवारका सदस्यहरूकाे हात रहेको आराेप लगाइ जाहेरी दिएको छ ।


घटना घटेपछि घरमा ताेडफाेड समेत भएको भन्दै फेरि त्यस्तो नहाेस् भन्नका लागि लामिछानेको घरमा नियमित रूपमा प्रहरीले ड्युटी दिइरहेको छ ।

प्रहरी श्राेतका अनुसार शवकाे पाेस्टमार्टमका लागि गण्डकी अस्पताल पाेखरामा लगिएको र पहिलो चरणको पाेस्टमार्टम रिपोर्ट सामान्य आएकाे भए पनि चित्त नबुझेपछि पुनः थप पाेस्टमार्टमकाे चरणमा रहेको बताइएको छ ।

घटना घटाइएको हाे या घटेको हाे भन्ने बारेमा प्रहरी अनुसन्धान जारी छ । मृतक अनिशाकाे माइती पाेखरा स्थित कुँडहर हाे र उनको माइती श्रेष्ठ परिवारका हुन् । पाेखराकि श्रेष्ठ र म्याग्दे ३ धयेरेका लामिछाने बिच १ वर्ष अगाडि प्रेम बिवाहा भएको थियो । उनिहरू दुबै जना आदिकवि भानुभक्त क्याम्पसमा अध्यनरत समेत रहेका थिए ।

























