म्याग्दे गाउँपालिकामा वजेट नीति तथा कार्यक्रम निर्माणका लागि सर्वदलिय एवं सर्वपक्षिय अन्तर सम्वाद कार्यक्रम
म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वजेट नीति तथा कार्यक्रम निर्माणका लागि सर्वदलिय एवं सर्वपक्षिय अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।


स्वच्छ सभ्य समृद्ध म्याग्देको आधार, कृषि पर्यटन र पुर्वाधार वन्ने लक्ष्य वोकेको पालिकाले वजेट निर्माणको पुर्व सन्ध्यामा पालिका भित्रका राजनैतिक दल, समाजसेवी, वुद्धिजीवि , विभिन्न संघसंस्था तथा सरोकारवाला निकाय सँग पालिकालाई कसरी समृद्ध वनाउन सकिन्छ भन्ने विषयमा सुझाव माग गरेको हो ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तर सम्वाद कार्यक्रममा विभिन्न व्यक्तिहरुले विभिन्न सुझाव दिएका थिए । सर्वपक्षिय सम्वाद कार्यक्रमलाई सहजीकरण गर्दे पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले पालिकामा आन्तरिक आम्दानीको श्रोत कम हुदै गएको, संघ र प्रदेशवाट आउने बजेटमा भारि कटौती भएको सन्दर्भमा नागरिकको माग र आवश्यकतालाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने विषयमा सुझाव संकलन गर्न कार्यक्रम गरिएको बताए ।


कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले स्थानिय सरकार प्रदेश सरकार र संघिय सरकारले तोकेको न्युनतम मापदण्डमा तोकेर वजेट निर्माण गर्नुपर्ने भएको हुदाँ सरोकारवाला पक्ष सम्पुर्ण म्याग्देको विकास निर्माण र उत्थानमा लाग्नुपर्ने बताए ।

यसैगरि पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वजेट निर्माण आम टोलवासी, वस्ती, वडा हुदै पालिका सम्मको चासोको विषय वनेको हुदाँ बजेट निर्माणमा आम जनताको न्युनतम आवश्यकतामा केन्द्रित रहने बताए । पालिका जनताको साथ र सहयोग विना अगाडी वढ्न नसक्ने हुँदा नागरिकको सरोकारको विषयमा पालिकाले विभिन्न चरणमा सुझाव लिईएको बताए ।
वडामा टुक्रे योजनाले ठोस विकास निर्माणको काम नहुने हुँदा सिंगो पालिकालाई भुगोल मानेर अगाडी वढ्नुपर्ने श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरुले वजेटमा कृषि र उत्पादनका विषयमा बजेट बनाउनुपर्ने बताएका थिए । शिक्षा क्षेत्रको आमुल परिवर्तन विना विकास निर्माण सम्भव नहुनेमा सहभागीहरुले जोड दिएका थिए भने नेकपा माओवादी केन्द्र म्याग्देका संयोजक वालकृष्ण श्रेष्ठले म्याग्दे गाँउपालिकालाई पर्यटकिय दृष्टिकोणले अगाडी वढाउनुपर्ने वताएका थिए ।

त्यसैगरि कार्यक्रममा रास्वपाका म्याग्दे संयोजक मनोज अधिकारीले पालिकालाई समृद्ध र सवल बनाउन सवै पक्ष लाग्नुपर्ने बताए । पालिकामा आम्दानीको श्रोत विना विकास निर्माण सम्भव नभएको हुँदा आफुले पनि श्रोतको खोजीमा लाग्ने अधिकारीले बताए ।
























