दमाैलीमा भएको आगलागीबाट ७ करोड ६० लाखकाे धनजनको क्षति

दमाैलीमा भएको आगलागीबाट ७ करोड ६० लाखकाे धनजनको क्षति

व्यास नगरपालिका कार्यालय नजिकैको टहरामा आइतबार मध्यराति भीषण आगलागी भयो । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर बनाइएको यहाँका २४ वटा टहरामा २१ जना व्यवसायीले व्यापार गरेकाे ठाउँमा आगलागी भएको थियो ।

आगाे समयमा नियन्त्रण हुन नसक्दा ठुलो धनजनको क्षति भएको पीडित पक्षले आराेप लगाएको छ । प्रारम्भिक रिपोर्ट अनुसार आगलागीबाट ७ करोड ६० लाखको सम्पत्ती क्षती भएको अनुमान गरिएको छ ।

विपत् व्यवस्थापन समितिले आगलागीको घटनाको विषयलाई लिएर सोमबार साँझ दमौलीमा आयोजना गरेको सर्वदलीय बैठककमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहराले आगलागीबाट करिब ७ करोड ६० लाख बराबरको क्षति भएको हुनसक्ने बताएका थिए । एसपी बाेहराले कमजोर संरचना र विद्युतीय चुवावटका कारण आगलागी भएको बताए । बाेहराले समयमा नै आगो नियन्त्रणमा आएकाले अन्य क्षेत्रमा आगो फैलन नपाएको समेत दावी गरे ।

राति पौने १ बजे लागेको आगो तनहुँ जलविद्युत आयोजना, मुग्लिन पोखरा सडक योजना र व्यास नगरपालिकाका दमकलको सहायताले पौने ४ बजे नियन्त्रणमा लिएको एसपी बोहराले जानकारी दिए। सुरुमा व्यास नगरपालिकाको दमकलले मात्र आगो निभाउन नसक्दा थप पसलहरुमा फैलिएको थियो ।

सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले नगरपालिकासंग उपलब्ध दमकल सानो भएकाले आगलागी समयमै नियन्त्रणमा लिन नसक्दा क्षति बढि भएको देखिएको बताए ।

नगरप्रमुख बैकुण्ठ न्यौपानले आगलागीको घटना मध्यरातिमा भएका कारण तत्काल नियन्त्रणमा लिन नसकेको बताए । क्षतिको पूर्ण विवरण आएपछि यथोचित राहत तथा क्षतिपूर्तिको पहल गर्ने उनको भनाइ छ । 

क्षति मूल्याङ्कनको लागि समिति गठन

यसैबिच आगलागीको क्षतिको विवरण सङ्कलन गर्नको लागि नौ सदस्यीय समिति गठन गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए ।

व्यास नगरपालिकाको संयोजकत्वमा क्षतिको यर्थाथ विवरण सङ्कलन गर्ने, क्षतिको विवरण विपद्का स्थानीय समिति, जिल्ला, प्रदेश तथा सङ्घ समितिलाई जानकारी गराई राहतको लागि पहलकदमी गर्ने र विस्थापित व्यवसायी सोही ठाउँमा स्थापितको लागि पहल कदमी गर्ने निर्णय भएको समन्वय प्रमुख वाग्लेले जानकारी दिए ।

यता पीडित पक्षले भने टहरा पुनः निर्माण गरी व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्ने माग गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page