आँबुखैरेनी गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
आँबुखैरेनी गाउँपालिकाको आर्थिक बर्ष ०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ । आबुखैरेनी गाउँपालिकाको आयोजना तथा उद्घोष संचार उद्योगको समन्वयमा गाउँपालिका प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा कतिपय नागरिकले गाउँपालिकाले गरेका कार्यको खुलेर प्रशंसा र केहीले खबरदारी गरेका थिए ।


सहभागीहरूले सावर्जनिक जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउने बारेमा , प्राकृतिक श्रोतको पहिचान र परिचालनलाई ध्यान दिने बारेमा ,मोटरमार्गको गुणस्तरका बारे लगायत कृषि , शिक्षा , स्वास्थ्य , राेजगारि जस्ता बिषयमा प्रश्न उठाएका थिए ।


आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले नागरिकहरुले राखेका जिज्ञासा तथा गुनासो सम्बोधन गर्ने प्रतिवद्वता ब्यक्त गरेका थिए । उनले पालिकाको अधिकार क्षेत्रमा पर्ने काम गर्ने अन्य कार्यालयको क्षेत्रधिकारमा पर्ने आयोजना तथा विकास निर्माणमा समन्वय गर्ने बताए । गाउँपालिकावासीले उठाएका प्रश्नहरुमा सम्बन्धित वडा अध्यक्ष ,तथा शाखा प्रमुख तथा कर्मचारीहरुलाई आगामी दिनहरुमा गुनासो नआउने गरी काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले गाउँपालिकाले गरेका विकास निर्माण तथा कार्यालयबाट सम्पादन गरिएका गतिविधीका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा गापा उपाध्यक्ष दुर्गा अर्यालले स्वागत तथा कार्यक्रमकाे संचालन नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले गरेका थिए ।


























