असार २ गते हुने व्यासको पुनः मतगणनामा हराएको १८५४ मतको खाेजि हुने !
उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको पुन: मतगणना गर्न असार २ गते लाई आदेश दिएकाे छ ।


उच्च अदालतले दिएको आदेशको पूर्ण पाठमा असार २ गते बिहान १० बजे देखि मतगणना सुरु हुने उल्लेख गरिएको छ ।यसअघि संक्षिप्त आदेशमा १ महिना भित्र मतगणना गर्नुपर्ने भन्ने उल्लेख गरिएको थियो । यस आदेशले कहिले मतगणना हुने भन्ने अन्याैल हटेको छ भने स्वतन्त्र उम्मेदवार दिपक राज जाेशि पक्षलाई हाैस्याएकाे छ ।


०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुन: मतगणनाको माग गर्दै १२ जेठ ०७९ मा मतगणना कार्य बदर गरी दोहोर्याएर मतगणना गरी पाउँ भनी अदालतमा रिट दर्ता गरेका थिए ।

जेशीले रिट दायर गरेको २३ महिना २० दिनपछि अदालतले पुन: मतगणना गर्न आदेश दिएको थियो । न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले जोशीको दाबी पुग्ने आदेश गरेसँगै अब पुन: मतगणना हुँदा कसको पक्षमा नतिजा आउने हाे चर्चाको विषय भएको छ ।

अदालतको आदेशसँगै अब निर्वाचन आयोगले पुन: मतगणना गरेर अर्को नतिजा प्रकाशन गर्नुपर्ने भएको छ । आदेशसँगै यस अघिको नतिजा स्वत बदर समेत भएको छ ।

कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग दुई सय ५२ मत अन्तरले पराजित भएका जोशीले निर्वाचन आयोग नेपाल, मुख्य निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहुँ र निर्वाचित बैकुण्ठनाथ न्यौपानेलाई प्रतिवादी बनाउँदै पुन: मतगणनाको माग गर्दै रिट निवेदन दिएका थिए।
अदालतमा दायर गरेको रिटमा जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी, धाँदली गरेर षड्यन्त्रपूर्वक हराइएको उल्लेख गरेका थिए ।
अदालत आउनु अघि जोशीले मतगाणनाको परिणाम सार्वजनिक भए लगत्तै पुन: मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा उजुरी दिएका थिए । आफनो उजुरीको सुनुवाई नभएको र आयोगबाट न्याय नपाएको भन्दै उनी अदालत पुगेका थिए ।
निर्वाचनपछि भएको मतगणनामा न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । मेयरमा विजयी न्यौपानेले आफ्नो पदभार ग्रहणसँगै विगत दुई वर्षदेखि कामसमेत गर्दै आएका छन् । न्याैपानेले सुक्रवार मात्रै दुई वर्षको उपलब्धि सार्वजनिक गरेका छन् ।
जोशीको निवेदनमाथि भएको सुनुवाइपछि अदालतले निवेदकको मागअनुसार आदेश किन जारी गर्न नपर्ने हो ? त्यसको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
त्यसपछि जोशीले पुन: मतगणनाको माग गर्दै दायर गरेको रिट ३१ औँ पटकको पेशीमा भएको सुनुवाईपछि मात्र अन्तिम फैसला आएको हो । दुई वर्षको अवधिमा रिट १४ पटकसम्म हेर्न नभ्याइने, निवेदक र विपक्षीका कानुनी व्यवसायीबाट ११ पटक स्थगित, प्रमाण बुझ्ने बहश नोट माग्ने लगायतका ६ पटक विभिन्न आदेशसँगै ३२ औँ पटकमा आएर अन्तिम फैसला सगै पुन: मतगणना गर्ने आदेश अदालतले गरेको हो ।
स्वतन्त्र उम्मेदवार जाेशी पक्षका वकिलले सर्वपक्षीय सर्वदलिय सहमती नगरी आफ्नो मनोमानी ढंगले मतगणना सुरु गरेको, उक्त मतगणना गर्दा सुरुमा सदर र बदर मतलाई रितपूर्वक सर्टिङ्ग गरी सकेपछि क्रमैसँग १/१ मतपत्र गणना गर्नुपर्नेमा सो नगरी विपक्षी वैकुण्ठनाथ न्यौपानेको चुनाव चिन्ह रुखमा परेको चुनाव चिन्हलाई एकठाउँमा राखी सदर बदर केही गणना नगरी सबै मतपत्र सरासर गणना गरिएको, मतपत्रमा विपक्षीको चुनाव चिन्हमा बाहेक सबै कोठामा चुनाव चिन्ह लागेको भए तापनि सो मतलाई समेत सो दलको सबै उम्मेदवारलाई दिएको हो भनी विपक्षीको नै हकमा गणना गरिएको र मतपत्रमा निवेदकको चुनाव चिन्हको कोठा बाहिर थोरै मात्र कोरिएको वा चुनाव चिन्ह बाहिर भएको भए सो मतलाई बदर गरिएको हुँदा विपक्षीहरुबाट निवेदकलाई सुनियोजित ढंगले निर्वाचनमा हराउने कार्यहरु गरी मतगणना निष्पक्ष ढंगले नगरेको हुँदा पुनः मतगणना गरिपाउँ भनी बहस गरेका थिए ।
यस्तै विपक्षीहरुका तर्फबाट उपस्थित उच्च सरकारी वकील कार्यालय, पोखराका न्यायाधिवक्ता एकनारायण ढकाल र विपक्षी बैकुण्ठनाथ न्यौपानेका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णु कुशल भुजलले स्थानिय तहको निर्वाचनमा मतगणना सम्बन्धी सम्पूर्ण कार्य रीत पुन्याएर गरिएको, मतगणना गर्ने स्थलमा दलका प्रतिनिधि तथा उम्मेदवारका प्रतिनिधि समेतलाई राखेर हरेक मतलाई उक्त प्रतिनिधिहरुलाई देखाई सदर र बदर गरी गणना गरिएको, प्रत्येक मतगणना फारममा दल तथा उम्मेदवारका प्रतिनिधिले सहीछाप समेत गरेको, विपक्षी निवेदकलाई मतगणना गर्दा कुनै मत गणना स्वच्छ ढंगबाट भएको छैन भन्ने लागेमा निजले मुख्य निर्वाचन अधिकृत समक्ष तत्काल नै निवेदन दिई पुनः मतगणना समेत गर्न सक्ने कानूनी प्रवाधान समेत रहेकोमा विपक्षी निवेदकले उक्त कार्यहरु केही नगरी विपक्षी मध्येका बैकुण्ठनाथ न्यौपाने विजयी घोषणा भएपछि पुनः मतगणना गरिपाउँ भनी दिएको निवेदन कानूनसम्मत नहुँदा निवेदन खारेज गरिपाँउ भनी बहस गरेका थिए ।
व्यासको वडा नं. १३ को चौथो लट अर्थात ६००-८०० सम्मको २०० मतपत्रको ठेली गणना हुँदा कैची चुनाव चिन्हमा ३३+१९-५२ जोड्नु पर्नेमा ३२ मत मात्र जोडिई बाँकी २० मत र वडा नं.१० को १००१-११०० सम्मको १०० मतपत्रको ठेलीको मत गणना हुँदा कैची चुनाव चिन्हमा रेकर्ड भएको ३० मत गरी ५० मत कैची चुनाव चिन्हमा जोडिएको छैन। व्यास नगरपालिकाको १४ वटै वडाका सबै मतदान केन्द्रको बाकसमा झरेको मत संख्यालाई भुईंमा घोप्ट्याई वडागत रुपमा १००/१०० को ठेलीको मतपत्र नगन्दाको समयमा जम्मा ३०१२२ मतपत्र भएको तर सोही ठेलीवाट मतगणना गरी सकेपछि प्रत्येक उम्मेदवारले प्राप्त गरेको सदर मत २६५६९, बदर मत १६९९ गरी गणना भएको जम्मा मतपत्र २८२६८ देखिन्छ भने बाँकी १८५४ मतपत्र कता गयो? जम्मा २५२ मत फरक देखाई परिणाम घोषणा गरिएको छ !
व्यास नगरपालिका वडा नं. १० को १००१ देखि ११०० सम्मको मतगणना फारममा निवेदकले ३० मत प्राप्त गरेको देखिएकोमा सो मत एकिकृत फारममा समावेश गरेको नदेखिई सो मत निजले प्राप्त गरेको कूल मतमा जोडेको देखिएन। त्यसैगरी, अनुसूची-५८ को फारममा व्यास नगरपालिकाको प्रमुख पदमा सम्पूर्ण वडाहरुबाट जम्मा ३०,१८३ मत खसेको देखिएकोमा सो पदका प्रत्यासीहरुले २५,५९५ मत प्राप्त गरेको र ४,५८८ मत बदर भएको भन्ने देखिन्छ। सो बदर मत मतगणना सम्बन्धी अनुसूची-५६ को फारममा उल्लेख भएको बदर मतसँग मिल्न भिड्न आएको नदेखिनुका अतिरिक्त उम्मेदवारले पाएको मत र बदर मतको संख्याले जम्मा खसेको मत भनि उल्लेख भएको ३०,१८३ मत पूरा भएको अवस्थामा पूर्ण बदर मत भनी ४४५ मत उल्लेख भएको देखिंदा सो समेत जोडजम्मा गर्दा खसेको मत भन्दा बढी हुन जाने देखिएको समेतको आधार कारणवाट निवेदन दावी बमोजिम निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ४४ को उपदफा (१) बमोजिम कानून बमोजिम मतगणना भएको नदेखिंदा सोही ऐनको दफा ४४ को उपदफा (२) बमोजिम ब्यास नगरपालिका तनहुँको नगर प्रमुखको पदमा स्थानीय तह निर्वाचन २०७९ मा भएको निर्वाचनको मतगणना कार्य बदर गरी दोहोर्याई मतगणना गर्ने आदेश गरिदिइएको छ। वडा नं. ४ को एकिकृत मतगणना फारममा ५०० मतपत्र गणना गर्दा सम्मको भनी विभिन्न निर्वाचन चिन्हहरुमा जम्मा ४५३ मत उल्लेख भएको देखिएको र उक्त फारममा बदर मतको हरफमा कुनै अंक उल्लेख भएको नदेखिंदा गणना गरिएको ५०० मतमा नपुग मत ४७ के भएको हो भन्ने सम्बन्धमा स्पष्ट रुपमा खुलेको देखिंदैन। यस्तै, वडा नं. १० को मतगणनामा जम्मा खसेको मत ३०४२ र उम्मेदवारहरुले २५६७ मत प्राप्त गरेको र ४७५ बदर मत भनी मतगणना सम्बन्धी अनुसूची-५८ को एकिकृत फारममा उल्लेख भएको देखिएकोमा सो वडाको मतगणनाको आधारको रुपमा रहेको अनुसूची-५६ को मतगणना फारममा गणना भई जम्मा ११६ बदर मतलाई धर्का तानी गणना गरिएको देखिंदा अनुसूची-५८ को फारममा बदर मत भनी उल्लेख भएको ४७५ मत पुष्टि हुन आएको देखिंदैन। फैसलाको पुुर्ण पाठमा भनिएको छ ।
























