पराशर मावि मा भएको नि:शुल्क आँखा तथा दन्त परीक्षण शिविर बाट ३१० जना लाभान्वित
व्यास नगरपालिका वडा नं ५ बेनीपाटन स्थित श्री पराशर माध्यमिक विद्यालयमा सनिवार १ दिने निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ।


नेपाल युवा रेडकस सर्कल परासर माध्यमिक विद्यालयले आयोजना गरेको उक्त शिविरमा दमौली आँखा उपचार केन्द्र ब्यास-२ गणेशमान चोक र ए-वान स्माइल डेन्टल क्लिनिक ब्यास-२ मेनचोक, दमौलीको प्राविधिक सहयोग रहेको थियो। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला शाखाका सभापति डा. कृष्णप्रसाद गौतमको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि डा. गौतमले युवा सर्कलले सामाजिक कार्यमा जिल्लाकै उत्कृष्ट काम गरेकाे भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

युवा रेडक्रस सर्कलकी अध्यक्ष विष्णुमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिका वडा नं ५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्री, विद्यालयका संस्थापक एवं बेनीपाटन टोल विकास संस्थाका अध्यक्ष तथा पूर्व प्र.अ. हेम पौडेल, पाटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र गिरी, अभिभावक शिक्षक संघका अध्यक्ष नरबहादुर आले, पूर्व वि.व्य.स. अध्यक्ष कृष्ण नारायण श्रेष्ठ, वि.व्य.स. सदस्यहरु, अ.शि.संघ सदस्यहरु अभिभावक लगायतकाे उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले समयमै रोग पहिचान गरी उपचार गर्न र भविष्यमा हुने जोखिम कम गर्न यो कार्यक्रम उपयुक्त भएकाे कुरा बताएका थिए ।

उक्त शिविरमा १८१ जनाको नि:शुल्क आँखा परीक्षण र १२९ जनाको नि:शुल्क दन्त परीक्षण गरिएको रेडक्रस गण्डकी प्रदेशका महासचिव रामदत्त पाैडेलले बताए ।
विद्यालयका प्रधानाध्यापक एवं युवा रेडक्रस सर्कलका संरक्षक तथा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले स्वागत तथा सञ्चालन शिक्षक नायक मञ्जु खनालले गरेका थिए ।
कार्यक्रममा प्राविधिक सहयोग गर्नुहुने दमौली आँखा उपचार केन्द्र ब्यास २ गणेशमान चोकका प्रोप्राइटर डा. सञ्जीव अधिकारि. र उहाँको टिम तथा ए-वान स्माइल डेन्टल क्लिनिकका प्रोप्राइटर डा.रन्जित कुमार शाह र उहाँको टिम प्रति विद्यालयले आभार व्यक्त गर्दै धन्यवाद दिएकाे छ । साथै विद्यार्थीको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने१ दिने निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन गर्ने आयोजक युवा रेडक्रस सर्कललाई समेत बिद्यालयले धन्यवाद दिएकाे छ ।
























