आँबुखैरेनी गाउँपालिका द्वारा विपन्न बिद्यार्थीलाई सहयोग
तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका दुई चेपाङ्ग विद्यार्थीलाई अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ । आँबुखैरेनी गाउँपालिका–५ निवासी अमृत र संजीव चेपाङलाई मासिक रु.पाँच हजारका दरले अध्ययन खर्च बापतकाे रकम गाउँपालिका अध्यक्ष शुक्र चुमानले विद्यार्थीका अभिभावक मार्फत हस्तान्तरण गरेका हुन् ।


रामशाह माध्यमिक विद्यालयमा अध्ययनरत द्वय विद्यार्थी क्रमश कक्षा–९ र कक्षा–११ मा अध्ययनरत रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए । कार्यपालिका बैठकले बिपन्न बर्गका चेपाङ्ग बिद्यार्थीहरुलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक पाँच हजारका दरले सहयोग गर्ने निर्णय भए बमोजिम रकम प्रदान गरेको हो ।


विद्यार्थी अमृतलाई दोस्रो र तेस्रो किस्ता बापत मंसीरदेखि असारसम्म आठ महिनाको रु.चालिस हजार र संजीवलाई यही शैक्षिक सत्रको बैशाखदेखि असारसम्म तीन महिनाको रु.पन्ध्र हजारको चेक हस्तान्तरण गरिएको हो ।

माध्यमिक तह अध्यनका लागि घर पाएक नपरेका र बिपन्न विद्यार्थीलाई गाउँपालिकाले अध्ययन खर्च उपलव्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष चुमानले जानकारी दिए । शिक्षा लिनबाट कोही बञ्चित हुन नपरोस् भनि गाउँपालिकाले निर्णय नै गरेर अघि बढेको छ,उनले भने,“विपन्न विद्यार्थीका लागि खाद्यान्न र आवास बापत मासिक रु.पाँच हजारका दरले सहयोग गर्ने नीति अवलम्वन गरेको छ ।”

त्यसैगरी, चौध जना कार्यपालिका सदस्य र एक जना प्रमुख प्रशासकीय अधिकृतले मासिक बैठक भत्ता बापतको रकम शैक्षिक कोषमा जम्मा गरेका छन् । पन्ध्र जनाको मासिक रु.एक हजारका दरले दश महिनाको रु.एक लाख पचास हजार शैक्षिक कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

























