दमाैलीमा १७ गतेदेखि अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने
तनहुँकाे सदरमुकाम दमाैली स्थित अनसन चौतारी खुल्ला चौरमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । अन्तर पालिका स्तरीय हुने प्रतियोगिता जेष्ठ १७ गते देखि १९ गते सम्म हुने भलिबल संघ तनहुँले जनाएको छ ।


स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ रूपयां नगद तथा ट्रफि, मेडल र प्रमाणपत्र पाउने जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदम सुनारले बताए । यस्तै प्रतियोगितामा
दोस्रो हुने टिमले ५१ हजार १ सय ११ तथा तेस्रो हुने टिमले २५ हजार १ सय ११ रूपया नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउने सुनारले जानकारी दिए ।


प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट स्पाईकर, बेस्ट सेटर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर बेस्ट कोच, बेस्ट सर्भर लाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको छ । स्थानीय खेलाडीलाई प्राेत्साहन गर्ने उद्धेश्यले सम्बन्धित स्थानीय स्तरकै खेलाडी खेल्ने वातावरण हाेस् भनि प्रमाणित गरेको फारम भरि आयाेजक समक्ष पेश गर्नुपर्ने संघले जनाएको छ । त्यस्तै एउटा पालिकाले बढीमा दुई टिम सम्म सहभागी गराउन सक्ने संघले जनाएको छ ।

प्रतियोगितामा तनहुँका १० वटै स्थानीय तहबाट खेलाडी आउने संघका महासचिव अशोक गिरीले बताए । अहिले प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।प्रतियोगिता सफल बनाउन विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन् ।


























