अन्तरपालिका भलिबल प्रतियोगिताकाे उपाधि शुक्लागण्डकीलाइ
तनहुँकाे सदरमुकाम दमाैली स्थित अनसन चौतारी खुल्ला चौरमा सम्पन्न अन्तरपालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताकाे उपाधि शुक्लागण्डकि नगरपालिकाले जितेको छ । आइतबार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाले घिरिङ गाउँपालिकालाई सोझो तीन सेटमा पराजित गरेको हो । शुक्लागण्डकीले घिरिङलाई २५-२०, २५-२३ र २५-२२ अङ्कले पराजित गरेको छ ।
प्रतियोगिताकाे फाइनल खेलमा पराजित घिरिङ द्धितिय तथा भिमाद नगरपालिका तृतीय भएका छन् ।



स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ बिहीबारदेखि प्रतियोगिता सुरु भएको थियो ।


प्रतियोगितामा प्रथम हुने शुक्लागण्डकिले १ लाख १ हजार १ सय ११ रूपयां नगद तथा ट्रफि, मेडल र प्रमाणपत्र पाएकाे छ। यस्तै प्रतियोगितामा दोस्रो हुने घिरिङले ५१ हजार १ सय ११ तथा तेस्रो हुने भिमादले २५ हजार १ सय ११ रूपयां नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा बेष्ट सर्भरको उपाधि घिरिङका हरिकुमार श्रेष्ठ, बेष्ट डिफेन्डरको उपाधि ऋषिङका विकास थापा, बेष्ट सटरको उपाधि शुक्लागण्डकीका अशोक मल्ल ठकुरी, बेष्ट स्पाइकरको उपाधि घिरिङका सुदीप थापा, बेष्ट ब्लकरको उपाधि भिमादका युक्सल थापा, बेष्ट प्लेयरको उपाधि शुक्लागण्डकीका भोजराज बिसी र फेयर प्ले टिमको उपाधि ऋषिङले जितेको छ ।
विजेतालाई तनहुँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे , जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदम सुनार लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा तनहुँका भानु र आवुखैरेनि बाहेक ८ वटा पालिकाका खेलाडीकाे सहभागीता रहेको थियो ।
भलिबल संघ तनहुँका अध्यक्ष पदम परियारकाे अध्यक्ष तामा उक्त प्रतियोगिता भएको थियो ।


























