तनहुँमा छुवाछूतविरुद्ध प्रदर्शन

जातीय भेदभाव तथा छुवाछूतको विरुद्धमा तनहुँमा बृहत् प्रदर्शन गरिएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सोमबार सदरमुकाम दमौलीमा प्रदर्शन गरेको हो ।


सबै खाले विभेदको अन्त्य गरौं, समावेशी अवसरको गलत भ्रम अन्त्य गरौं, जातीय भेदभाव सँधैको लागि अन्त्य गरौं लगायत लेखेको प्लेकार्ड बोकेर छुवाछूत र भेदभावविरुद्धका नाराहरु लगाएर प्रदर्शन गरिएको छ । उनीहरुले दमौली बजार परिक्रमा गरेका थिए । युवाहरुको उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनमा गैर दलितहरुको समेत सहभागिता थियो ।


संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले संविधानमा छुवाछूत र भेदभावलाई सामाजिक अपराध भनिए पनि समाजमा हट्न नसकेकोले जनचेतना जगाउन सहभागी भएको बताए । कार्यक्रम मनाउन जिल्लाका दसै पालिकाकाबाट मानिसहरू ठुलो संख्यामा सहभागी भएका थिए । छुवाछुत, भेदभाव मुक्त देश भनेर १७ वर्षअघि नै घोषणा गरिएको भए पनि समाजमा अझै हट्न नसकेकोले सोमबार दमौलीमा सचेतना सभाको आयोजना गरिएको सयुक्त राजनीतिक दलित सङ्घर्स समितिका संयोजक तथा गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे विश्वकर्माले बताए । प्रदर्शन पछिकाे सचेतना सभामा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेका थिए ।

दिवसको अवसरमा तनहुँका छ वटा पालिकाले आज सार्वजानिक बिदा दिएका थिए ।





























