इ.कैनीकाे शव ३ दिनदेखि अस्पतालमा , माग पूरा नभए कर्मचारीले चरणवद्ध आन्दाेलन गर्ने
व्यास नगरपालिका कर्मचारी हकहित तथा सरोकार मञ्चले व्यास नगरपालिकाका इन्जिनियर स्व. प्रविण कैनीका परिवारको माग पूरा गराउन ध्यानाकर्षण गराउँदै बुधबार प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम समक्ष ज्ञापनपत्र बुझाएको छ ।


मञ्चका अध्यक्ष कुमारकञ्चन जिसी नेतृत्वको टाेलिले प्रजिअ गौतमलाई ज्ञापनपत्र बुझाउँदै पीडित पक्षको माग सम्बोधनका लागि गम्भीर भैदिन आग्रह गरेका छन् ।
गत सोमबार व्यास नगरपालिका–१ मुसेखोला नजिक चिनियाँ कम्पनीको पानी ट्याङ्करको लापरवाहीले इन्जिनियर कैनीको मृत्यु भएको थियो । टयाङकर ब्याक गर्ने क्रममा थिचिएर मृत्यु भएको भन्दै सोही दिनदेखि पीडित पक्ष आन्दोलित हुदै आएका छन् । पीडित पक्षले पहिलो दिन पाँच र दोस्रो दिन छ घण्टा राजमार्ग अवरुद्ध गरी दबाब समेत दिएका थिए ।


प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा नगरपालिकामा कार्यरत लगनशील प्राविधिक जनशक्तिको क्षतिले समग्र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको जनाइएको छ । कार्यालयको कामको सिलसिलामा कर्तव्य निर्वाह गर्ने क्रममा दुर्घटनाबाट भएको मृत्युले मर्माहत भएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ । पीडितको माग सम्बोधन नभए शसक्त बिरोधका कार्यक्रम अघि बढाइने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउनु अघि कर्मचारीहरूले प्रशासनकाे गेटमा नाराबाजी गर्दै धर्ना दिएका थिए ।

सडक बिस्तार आयोजनाको ट्याङकरको ठक्करबाट मृत्यु भएका इन्जिनियर प्रविन कैनीका परिवारजनले तेस्रो दिन सम्मपनी शव बुझेका छैनन् ।

क्षतिपूर्तिको विषयमा पीडित पक्ष र सडक बिस्तार आयोजनाको जिम्मा लिएको चाइनिज कम्पनी बीच सहमति कायम हुन नसकेपछि परिवारजनले शव बुझ्न नमानेका हुन् । बुधबार काठमाडौंमा पीडित पक्षका तर्फबाट एडिबी र भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीहरु संग समेत कुराकानी भएको बताइएको छ ।

























