ऋषिङ गाउँपालिका पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा

तनहुँको ऋषिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिका खोपको पहुँचमा आएको एकिन भएपछि ऋषिङलाई विहिवार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।


यस सँगै खोप उमेर समूह जन्मेदेखि १५ महिना सम्म र १६ महिनादेखि पाँच वर्ष उमेरका सबै बालबालिका खोपको पहुँचमा पुगेका छन् । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता नाराका साथ पूर्णखोप घोषणा गरिएको हाे ।


कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र पालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पूर्णखोप सुनिश्चितता घोषणा गरेका थिए । समन्वय प्रमुख वाग्लेले रोग प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोप लगाउनु पर्ने बताए । मुलुकको दक्ष र अब्बल जनशक्ति निर्माण गर्न अहिले स्वास्थ्य नागरिक हुन जरुरी रहेको उनले बताए ।

हरेक वर्ष खोप सुनिश्चितता गर्ने कार्यक्रम अनुसार सबै सूचक पुरा गरेर पूर्णखोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार गाउँपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको छ ।

कार्यक्रममा ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनु माया थापा, प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाट, विभिन्न वडाका वडाध्यक्ष एवम् जनप्रतिनिधिहरू , राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू , स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाहरु लगायतको उपस्थिति रहेको थियो ।

























