प्रथम म्याग्दे महाेत्सवमा आज रामजी खाँड र कमला गैर्हेकाे प्रस्तुति रहने
तनहुँकाे म्याग्दे गाउँपालिका–४ स्थित थर्पुबजारमा सुक्रवारबाट सुरु भएको प्रथम म्याग्दे महोत्सव २०८१ काे चाैंथाे दिन साेमवार आज राष्ट्रिय ख्यातिप्राप्त कलाकार रामजी खाँड र कमला गैर्हेकाे प्रस्तुति रहने भएको छ ।


थर्पु युवा क्लवको आयोजनामा जेठ २५ गतेदेखि असार २ गतेसम्म हुने महाेत्सवकाे चाैँथाे दिनमा आज दर्शकहरू लाई भरपुर मनाेरञ्जन दिन खाँड आउने महाेत्सव समारोह समिति संयाेजक गाैरबराज रानाले बताए । खाँड र गैर्हे सँगै अन्य राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिने आयाेजक थर्पु युवा क्लवले जनाएको छ । महाेत्सवकाे तेस्रो दिनमा हिजो रमेश भट्टराई लगायतका कलाकारले भरपुर मनाेरञ्जन दिएका थिए ।




समग्र म्याग्देलाइ चिनाउन र यहाँको उत्पादन लाई बजारिकरण गर्न थर्पु युवा क्लवले महाेत्सव आयाेजना गरेकाे छ ।
बिगतदेखि ठुलो व्यापारिक क्षेत्र तथा कला संस्कृतिको हिसाबले पनि प्रसिद्ध थर्पु बजारमा पछिल्लो समय सुस्ताएको महसुस गरि यस भेगमा पुनः व्यापारिक तथा सांस्कृतिक गतिविधि चलायमान बनाउन महोत्सव आयोजना गरिएको क्लवले जनाएको छ ।
म्याग्दे क्षेत्रको व्यापार चलायमान बनाउन, स्थानीय कृषि उत्पादन लगायतका सम्पूर्ण व्यापार व्यवस्थापन गर्न, थर्पु बजारलाई म्याग्देको प्रमुख व्यापारिक क्षेत्रको रूपमा स्थापित गर्न, स्थानीय कलाकारको प्रतिभा प्रष्फुटन गर्न, राष्ट्रिय कलाकार तथा खेलाडीलाई स्थानीयसँग सात्क्षात्कार गराउन, समाजमा रहेका दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्न तथा क्लबको नेतृत्वमा बन्न लागेको खेल मैदानलाई अगाडि बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हाे ।
साथै प्राकृतिक सम्पदा संरक्षण एवम् प्रवर्द्धन ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण तथा होमस्टे प्रवद्र्धनमा पनि महोत्सवले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
“कला र संस्कृतिको संरक्षण आर्थिक सामाजिक कृषि,पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित महोत्सवमा एक सय स्टल राखिएका छन् । कुल स्टल मध्ये १० वटा स्टल कृषि, हस्तकला लगायतका स्थानीय उत्पादनका लागि निशुल्क प्रदान गरिएकाे छ।
महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता र म्याग्दे स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता हुने संयाेजक रानाले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ३०, २० र १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवबाट भएको मुनाफा म्याग्दे क्षेत्रका शिक्षा, स्वास्थ तथा कृषिमा सहयोग गर्ने योजना रहेको क्लवले जानकारी दिएको छ । महोत्सवमा प्रवेशका लागि बच्चालाई रु.५० र अन्यलाई ८० रुपैयाँको टिकट लाग्ने छ । महोत्सव अवधिभर ५० हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
























