तनहुँमा रुम टु रिडद्धारा सञ्चालित बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
तनहुँमा पढ्नको लागि कक्षा कोठा (रुम टु रिड)द्धारा सञ्चालित बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाका १० मध्ये ७ वटा पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।
ऋषिङ गाउँपालिकाको जनप्रतिनिधीको नेतृत्वमा बुधबार बालिका शिक्षा कार्यक्रम सञ्चालन गरिएको ऋषिङ गाउँपालिका–१ झापुटार स्थित शुक्ला माध्यामिक विद्यालयको संयुक्त अनुगमनका क्रममा कार्यक्रमको सकारात्मक प्रभाव देखिएको हो ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापा, वडा नम्बर १ का वडाध्यक्ष कुशबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा नेपाली, शिक्षक अभिभावक सङ्घका अध्यक्ष मेनुका खण्डलुक मगर , रुम टु रिडका फिल्ड कार्यालय व्यवस्थापक दिनेश पोखरेल सहितको टोलीले सो विद्यालयको अवलोकन तथा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कक्षा अवलोकन, बालिकाले सिकेका सिकाई, सुझाव संकलनका साथै अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।अनुगमनका क्रममा कक्षा–१० मा अध्ययनरत छात्रा अपेक्षा हिताङ मगरले जीवन उपयोगी शिक्षाले आफूहरूको आत्मबल बढेको बताइन् । “पहिले म अगाडि उभिएर बोल्न पनि सक्थिन तर अहिले धेरै मानिसको अगाडि निर्धक्कसँग बोल्न सक्छु” उनले भनिन् । मगर जस्तै सोही कक्षामा अध्ययन गर्ने पवित्रा थापाको भनाइ पनि उस्तै छ । थापाले पनि जीवन उपयोगी शिक्षाले आफूहरूको उत्साह, आँट र साहस अत्यन्तै बढेको बताइन् ।



अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी देखिएकाले आगामी वर्ष पनि यस कार्यक्रमलाई यस विद्यालयका अतिरिक्त अन्य विद्यालयमा समेत विस्तार गर्न ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आग्रह गरे । विद्यालय तथा घरपरिवारमा बालिकाहरू दुरव्यवहारबाट जोगिन, जीवन उपयोगी शिक्षा हासिल गर्न, विद्यार्थीलाई लक्ष्य निर्धारण गर्न यस कार्यक्रमले टेवा पुगेको भन्दै उनलेे कार्यक्रम लाइ निरन्तरता दिन रुप टु रिड प्रति अध्यक्ष श्रेष्ठले आग्रह गरे ।
रूमटुरिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोखरेलले चालु शैक्षिक सत्र पछि कार्यक्रमको समय सकिने भएकाले आगामी शैक्षिक सत्र देखि पालिकाले आफै व्यवस्थापन गर्नको लागि तयारी रहन आग्रह गरेका थिए । आर्थिक, सामाजिक र चेतनाको हिसाबले पिछडिएका समुदायका बालबालिकाहरूलाई केन्द्रमा राखेर यस प्रकारका कार्यक्रम पालिका आफैले सञ्चालन गरिनुपर्ने उनको सुझाव थियो । विद्यालय आउने क्रम बढाउनमा, नतिजा राम्रो ल्याउन रुम टु रिड र बालिका शिक्षा कार्यक्रम प्रभावकारी रहेको पाईएको उपाध्यक्ष गिनुमाया थापाले बताइन् ।
ऋषिङ–१ का वडाध्यक्ष कुशबहादुर आलेले रुम टु रिडले बालबालिकाहरूको व्यवहार परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएकोले यस्ता कार्यक्रम निरन्तरता दिनु पर्ने बताए ।
रुम टु रिडका फिल्ड कार्यालय व्यवस्थापक दिनेश पोखरेलले स्याङ्जाका दुई पालिका आफैले कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै पालिका स्वंले सञ्चालन गरिनु उपयुक्त हुने बताए। सबैको चाहना कार्यक्रम निरन्तरता दिनु पर्छ भनेर दबाव आईरहेकोले त्यसको लविङ्ग भइरहेको उनलेे जानकारी दिए । पोखरेलले भने, पालिका स्वंयले उक्त कार्यक्रमलाई आफ्नो योजनामा राखी कार्यक्रम गर्न उपयुक्त हुन्छ ।’ कार्यक्रममा वरिष्ठ सामाजिक परिचालिका कलावती विमली, सुस्मिता सुनार लगायतले रुम टु रिडद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमबारे जानकारी दिएका थिए ।


तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका , भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिकाका २० वटा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरू यश कार्यक्रम बाट लाभान्वित छन् ।
कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीपमूलक शिक्षा प्रदान गर्नुका साथै आत्मविश्वास बढाउने खालका गतिविधिहरू सञ्चालन गर्दै आएको छ । आफ्ना अधिकारका बारेमा छात्राहरूलाई सचेत बनाउँदै आदर्श व्यक्ति बन्ने बारे, भविष्यमा गर्ने पेसाको बारे, यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम सम्बन्धमा, चिनेजानेकाबाट हुने बलात्कार सम्बन्धमा, स्वास्थ्यका लागि पोषण तथा शैक्षिक योजनाको निर्माणका बारेमा शिक्षा दिने गरेको वरिष्ठ कार्यक्रम सहायक मञ्जु लोहनीले बताइन् । कार्यक्रमले परिक्षाको तयारी, पढ्ने तालिका लगायतको बारेमा जानकारी दिने भएकोले छात्राहरु पढाईमा अब्बल बनाउन मद्धत पुगेको पाईएको प्रधानाध्यापक केशरबहादुर थापा मगरले बताए । सहायक प्रधानाध्यापक सुनिता बुढाथाेकी श्रेष्ठले यस कार्यक्रमले छाात्राहरुको आत्मवल बढीरहेकोले निरन्ता दिनु आवश्यक रहेको बताइन् ।


























