तनहुँमा रुम टु रिडद्धारा सञ्चालित बालिका शिक्षा कार्यक्रम प्रभावकारी !

तनहुँमा रुम टु रिडद्धारा सञ्चालित बालिका शिक्षा कार्यक्रम प्रभावकारी !

तनहुँमा पढ्नको लागि कोठा (रुम टु रिड)द्धारा सञ्चालित बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाका १० मध्ये ७ वटा पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।

व्यास नगरपालिकाका जनप्रतिनिधीको नेतृत्वमा सुक्रवार बालिका शिक्षा कार्यक्रम सञ्चालन गरिएको व्यास १ भादगाउँ स्थित निर्मल माध्यामिक विद्यालयको संयुक्त अनुगमनका क्रममा कार्यक्रमको सकारात्मक प्रभाव देखिएको हो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने , प्रमुख प्रशासकिय अधिकृत काशीराम गैर्हे , वडा नं १ का अध्यक्ष रमेश चन्द्र हड्खले , शिक्षा शाखा प्रमुख केदार आचार्य , स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेती , याेजना शाखा प्रमुख भेषराज तिवारी , शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण विक , रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोखरेल , कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे , बरिस्ठ कार्यक्रम सहायक मञ्जु लाेहनी , सहजकर्ता शिक्षक निर्मला नराल र दुर्गा पाण्डे , फाेकल शिक्षक विपना सुनार र बरिस्ठ सामाजिक परिचालक ममता काेइराला सहितको टोलीले सो विद्यालयको अवलोकन तथा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कक्षा अवलोकन, बालिकाले सिकेका सिकाई, सुझाव संकलनका साथै अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।

अनुगमनका क्रममा कक्षा–७ मा अध्ययनरत छात्रा
सुरक्षा न्याैपानेले बालिका शिक्षा कार्यक्रमले आफ्नाे आत्मबल बढेको बताइन् । पहिले अगाडि उभिएर बाेल्न डर लाग्थ्यो तर अहिले बाेल्न सक्ने भएका छाैँ उनलेे भनिन् । न्याैपानेले जस्तै अर्का छात्रा अभिलाषा सुनारले पनि बालिका शिक्षाले आँट , साहस र उत्साह बढेको बताइन् । न्याैपाने र सुनारको जस्तै अन्य बिद्यार्थी हरूले पनि बालिका शिक्षा अत्यन्तै प्रभावकारी भएको भन्दै निरन्तरता सँगै याे शिक्षा छात्रहरूलाइ समेत दिनपर्ने बताएका थिए । यस्तै अर्का छात्रा रविना सुनारले भविस्यकाे याेजनाकाे बारेमा बालिका शिक्षाले धेरै कुरा सिकाएको भन्दै आफु भविस्यमा डाक्टर बन्ने बताइन् । सहभागी बिद्यार्थीहरूले राम्रो र नराम्रो केहाे भन्ने कुरा छुट्याउन सक्ने बनेको भन्दै शिक्षक बिद्यार्थी भन्दापनि दिदीबहिनीकाे रूपमा व्यवहार गरि दिइने शिक्षा प्रभावकारी भएको बताएका थिए ।

अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी देखिएकाले आगामी वर्ष पनि कार्यक्रमलाई यस विद्यालयका अतिरिक्त अन्य विद्यालयमा समेत विस्तार गर्न व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले आग्रह गरे । विद्यालय तथा घरपरिवारमा बालिकाहरू दुरव्यवहारबाट जोगिन, जीवन उपयोगी शिक्षा हासिल गर्न, विद्यार्थीलाई लक्ष्य निर्धारण गर्न यस कार्यक्रमले टेवा पुगेको भन्दै उनलेे कार्यक्रम लाइ निरन्तरता दिन रुप टु रिड प्रति आग्रह गरे । छात्रकाे तुलनामा छात्राहरू संवेदनशील हुने भन्दै नगर प्रमुख न्याैपानेले आत्मसुरक्षाकाे आवस्यकता पर्ने वर्गलाई ( नानीलाई )मजवुद र आत्मनिर्भर बनाउन पनि बालिका शिक्षा कार्यक्रममा छात्राहरू लाई व्यवहारिक शिक्षा दिइएको बताए ।

रूमटुरिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोखरेलले चालु शैक्षिक सत्र पछि कार्यक्रमको समय सकिने भएकाले आगामी शैक्षिक सत्र देखि पालिकाले आफै व्यवस्थापन गर्नको लागि तयारी रहन आग्रह गरेका थिए । आर्थिक, सामाजिक र चेतनाको हिसाबले पिछडिएका समुदायका बालबालिकाहरूलाई केन्द्रमा राखेर यस प्रकारका कार्यक्रम पालिका आफैले सञ्चालन गरिनुपर्ने उनको सुझाव थियो । विद्यालय आउने क्रम बढाउनमा, नतिजा राम्रो ल्याउन रुम टु रिड र बालिका शिक्षा कार्यक्रम प्रभावकारी रहेको पाईएको प्रमुख प्रशासकिय अधिकृत काशीराम गैर्हेले बताए ।
रुम टु रिडले बालबालिकाहरूको व्यवहार परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएकोले यस्ता कार्यक्रम निरन्तरता दिनु पर्ने भन्दै उनलेे त्यसको लागि नगरपालिकाले बजेट छुट्याउने बताए ।


रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोखरेलले स्याङ्जाका दुई पालिका आफैले कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै पालिका स्वंले सञ्चालन गरिनु उपयुक्त हुने बताए। सबैको चाहना कार्यक्रम निरन्तरता दिनु पर्छ भनेर दबाव आईरहेकोले त्यसको लविङ्ग भइरहेको उनलेे जानकारी दिए । पोखरेलले भने, पालिका स्वंयले उक्त कार्यक्रमलाई आफ्नो योजनामा राखी कार्यक्रम गर्न उपयुक्त हुन्छ ।’
कार्यक्रममा रूमटुरिड कार्यक्रम अधिकृत नित्यानन्द पाण्डेले रुम टु रिडद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमबारे बिद्यार्थी तथा सहभागीहरूकाे जिज्ञासा मेटाउँदै कार्यक्रमकाे बारेमा थप जानकारी गराएका थिए ।

तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका , भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिकाका २० वटा सामुदायिक विद्यालयमा अध्ययनरत एकहजार आठ सय पचास जना छात्राहरू यस कार्यक्रम बाट लाभान्वित रहेको कार्यक्रम अधिकृत पाण्डेले जानकारी दिए । कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीपमूलक शिक्षा प्रदान गर्नुका साथै आत्मविश्वास बढाउने खालका गतिविधिहरू सञ्चालन गर्दै आएको उनले बताए ।

बालिका शिक्षा कार्यक्रमले आफ्ना अधिकारका बारेमा छात्राहरूलाई सचेत बनाउँदै आदर्श व्यक्ति बन्ने बारे, भविष्यमा गर्ने पेसाको बारे, यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम सम्बन्धमा, चिनेजानेकाबाट हुने बलात्कार सम्बन्धमा, स्वास्थ्यका लागि पोषण तथा शैक्षिक योजनाको निर्माणका बारेमा शिक्षा दिने गरेको वरिष्ठ कार्यक्रम सहायक मञ्जु लोहनीले बताइन् । कार्यक्रमले परिक्षाको तयारी, पढ्ने तालिका लगायतको बारेमा जानकारी दिने भएकोले छात्राहरु पढाईमा अब्बल बनाउन मद्धत पुगेको पाईएको प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page