३२ करोडको झापुटारकाे निर्माणाधीन पुललाइ पानीले ढाकेपछि..
तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माण भइरहेको पुलकाे बारेमा प्रश्नचिह्न खडा भएको छ । २०७७ साल चैत २३ गते शिलान्यास भएको व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद भए पनि अहिलेसम्म पिल्लर मात्रै ठडिएकाे छ ।
सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेकाे हुने भए पनि निर्माणकाे काम भने कछुवाकाे गतिमा छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा रहँदा निर्माण कम्पनी माथि प्रश्नचिह्न खडा भएको छ । त्यतिमात्र हाेइन अहिलेसम्म बनेको पिल्लरलाइ पनि सनिवारकाे अविरल वर्षाले मादी र सेती बढेर करिब ढाक्न लाग्दा त्यस बिषयमा पनि गम्भीर प्रश्न उठेको छ ।

मादीसेती बढ्ने बित्तिकै बनेको पिल्लर नैँ ढाक्न थालेपछि याे पुल कस्तो प्राविधिकले हेरेर कस्तो निर्माण कम्पनीले बनाएको हाे ? भनेर स्थानीयले गम्भीर आराेप लगाएका छन् । त्यतिमात्र हाेइन पुल पास गर्ने र बनाउने प्राविधिक र ठेकदार दुबैलाइ कि कारबाही गर्न कि अग्लो बनाउन उनीहरूले माग गरेका छन् । स्थानीय बमबहादुर थापाले नबन्दै यस्तो हालतमा रहेको पुल बनेपछि कति खप्ला भनेर प्रश्न गरेका छन् । थापाले यस्तो पुल बनाउनेलाई कारबाही गर्नुपर्ने समेत बताएका छन् ।
२०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि साे अनुसार आधा काम पनि नभएको भन्दै अर्का स्थानीय रूपबहादुर थापा आक्राेसित भएका छन् । एकातिर समयमा काम नहुने अर्कोतिर पानीमा डुब्ने खालको पुल बनाउने यसमा भ्रस्टाचारकाे खेल भएको हुनसक्ने उनलेे आराेप लगाए ।

पुलको हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको बताइएको छ ।
गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ रुपैयाँ लागतमा पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौंसँग सम्झौता भएको थियो । एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९।५० मिटर रहनेछ । पाइल फाउण्डेसनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणपछि व्यास र ऋषिङका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ ।






























