म्याग्देका महिलालाई व्यवसायीक सीप विकास तालिम:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ का महिलाहरूलाई व्यवसायीक सीप विकास तालिम प्रदान गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजित उक्त तालिममा हार्पि, फिनियल, झोल सर्फ, नुहाउने डल्ले साबुन तथा पिताम्बरी बनाउने सिपविकास तथा स्तरउन्नती तालिमको प्रदान गरिएको थियो ।


तालिम सम्पन्न पश्चात् सहभागीहरू लाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठलेे सीपलाइ व्यवहारमा उतार्नुपर्ने बताए । सीप सिकेपछि अब व्यवसायीक बनी २/४ पैसा कमाउन सक्ने बन्नुपर्छ श्रेष्ठले भने । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सीप सिक्नु पहिलो खुड्किलाे भन्दै अब यसलाई बजारमा लगि बेच्नु मुख्य उपलब्धि हुने बताए । साेहि अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले ५ दिने तालिम उपलब्धिमुलक बनाउन सबै व्यवसायीक बन्नुपर्ने र त्यसको लागि साथ दिन गाउँपालिका तयार रहेको बताए । गाउँपालिका तपाईहरूकाे साथमा छ , सिकेको सीप बाट उपलब्ध प्रमाणपत्र लाई दराजमा लगेर नथन्क्याउनहाेस् , काम गरेर अगाडि बढ्नुहाेस अधिकारीले भने ।


कार्यक्रममा म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठ , बद्रीका घिमिरे , प्रदिप न्याैपाने लगायतले बाेलेका थिए । तालिम सिकेका महिलाहरूले अब आफुहरू आत्मनिर्भर बन्न सक्ने भएको भन्दै गाउँपालिका एवम् वडा लाई धन्यवाद दिएका थिए ।
























