खाेला बढ्दा बस लडाउने ३४ करोडकाे दमाैली बसपार्क !
तनहुँकाे व्यास नगरपालिका वडा नं १ करङकाठमा रहेको दमाैली बसपार्कमा पार्किङ गरिराखेकाे दुईवटा बसलाई बाढीले लडाएपछि यतिबेला बसपार्ककाे बारेमा प्रश्न उठेको छ । त्यति मात्रै हाेइन भरखरै पिच गर्दै गरेको बसपार्क अहिले बगरमा परिणत भएको छ ।

भाैतिक पुर्वाधार बिकास मन्त्रालयकाे ३४ करोड २७ लाख ५४ हजार ५ सय ६१ रूपयाँ ४० पैसा लागतमा निर्माण भएर अन्तिम चरणमा रहेको बसपार्क किन यस्तो ठाउँमा निर्माण भयो भन्ने बारेमा अहिले बहसकाे बिषय बनेको छ । बसपार्क अहिले मात्रै हाेइन ५ वर्ष अगाडि पनि डुवानमा परेको थियो ।

२०७९ /५ /२० मा सम्झौता भइ २०८२/२/३० मा सम्पन्न हुने भनिएको बसपार्ककाे अहिलेसम्म बिल्डिङ , नाली , सटरहरू तयार भएको र पिचको काम अगाडि बढेको छ ।
यद्यपि सुक्रवार बुल्दि खाेलाकाे बाढी बसपार्कमा पसेर बस नै लडाएपछि यति ठुलो याेजना किन यस्तो अनुपयुक्त ठाउँमा निर्माण भएको भनेर नगरबासीहरूले प्रश्न उठाएका हुन् । मैनाचुली / राफल जे भि काठमाडौं ले उक्त याेजना निर्माणकाे जिम्मा पाएकाे छ ।
























