दमाैलीकाे फाेहाेर चार दिनदेखि उठेन
फाेहाेर फाल्ने ठाउँको उचित व्यवस्थापन हुन नसक्दा दमाैली बजारको फाेहाेर चार दिन देखि उठ्न सकेको छैन । कुहिने र नकुहिने फाेहाेर मध्ये नकुहिने फाेहाेर चार दिनदेखि उठ्न नसकेको हाे । मादी नदिकाे किनार भतेरीमा उक्त फाेहाेर फाल्दै आएकाेमा असार मसान्तबाट सम्झौता सकिएकाे र त्यहाँ फाेहाेर फाल्न स्थानीयले राेक लगाएपछि व्यास नगरपालिकालाइ फाेहाेरमैला ब्यवस्थापन गर्न मुख्य चुनाैती बनेकाे छ।

बीसौं बर्ष देखि फाेहाेरमैला ब्यवस्थापनकाे टुङ्गाे लाग्न नसक्दा नगरबासी आक्राेसित छन्। अहिलेसम्म पनि ल्याण्डफिल साइडकाे दिर्घकालिन व्यवस्थापन हुन नसक्नु सिङ्गो नगरकै बेइज्जत भएको व्यास २ का रामजी सुवेदीले बताए । सधैं फाेहाेरकाे राजनीति हुने र त्यसैलाई बिषय बनाएर भाेट मागेर जितेर गएका जनप्रतिनिधिले यस बारेमा सिन्काे भाँच्न नसकेको उनलेे आराेप लगाए । भतेरीमा फालिएको फाेहाेरकाे पनि उचित व्यवस्थापन नगरी फालिदिँदा मादी नदि बढ्दा फाेहाेर यत्रतत्र तैरिएर लथालिङ्ग भइरहेको स्थानीयले बताएका छन् ।
यस सम्बन्धमा व्यास नगरपालिका सरसफाइ शाखा प्रमुख नवराज कंडेल सँग सम्पर्क गर्दा कुहिने फाेहाेर उठिरहेको र नकुहिने फाेहाेरकाे छिट्टै समाधान भएपछि उठ्ने जानकारी दिए । नगरबासीले कुहिने फाेहाेरलाई मल र पुन:प्रयाेग गर्न मिल्ने फाेहाेरलाई पुन:प्रयाेग गर्दै आएका छन् तर नकुहिने फाेहाेरलाई के गर्ने भन्ने प्रश्न उठेको छ ।

























