भिमादकि सुकु विकको हत्या गरि फरार सञ्जय पक्राउ
भिमादकी सुकु विककाे हत्या गरि फरार सञ्जय विक ८ महिनापछि पक्राउ परेका छन् । तनहुँकाे भिमाद घर भई पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गा बस्ने वर्ष ३२ की सुकु बि.क काे हत्या गरि फरार भएका बाग्लुङ घर भएका २९ वर्षीय सञ्जय विक पक्राउ परेका हुन् ।

२०८० मंसिर ०५ गते युनिक होटलको कोठा नं.२०२ मा अचेत अवस्थामा एक महिला रहेको भन्ने सूचना पछि वडा प्रहरी कार्यालय बैदाम तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक मोहन कुमार थापाको कमाण्डमा अनुसन्धान टोली घटना स्थलमा गएको थियो । निज महिलालाई तत्काल उपचारको लागि चरक मेमोरियल अस्पताल पोखरामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा निज महिलाले लगाएको सिक्री र मोवाईल फोन समेत साथमा नभेटिएको बताइएको छ । निज महिला आर्यन मुलको जस्तो देखिने, The North Face लेखेको निलो रङको ज्याकेट लगाएको राजन गुरुङ नाम लेखाएको व्यक्तिसंग उक्त युनिक होटलमा आई बसेको खुल्न आएको, पुरुष व्यक्ति फरार रहेको । घटना सम्बन्धमा थप अनुसन्धानको लागि तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट अनुसन्धान टोली गठन गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको थियो ।
सुकुको शंकास्पद मृत्युपछि प्रहरीले सुरुमा ६ जनालाई पक्राउ गर्यो। पक्राउ परेकाबाट प्रहरीले ‘क्लु’ फेला नपारेपछि उनीहरु तारेखमा छुटे।
लामो समयसम्म क्लु फेला नपर्दा कास्की प्रहरीलाई सुकु हत्या प्रकरण टाउको दुखाइको विषय बनिरहेकाे थियो । ८ महिनापछि कास्की प्रहरीले हत्या आरोपमा बाग्लुङको गल्कोट नगरपालिका–९ मल्मका २९ वर्षीय सञ्जय विकलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
नवलपुरको गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित डेराबाट इलाका प्रहरी कार्यालय गैंडाकोटको सहयोगमा कास्की प्रहरीले पक्राउ गरेको हो। हत्या भएको बखतमा उनी कास्कीको पोखरा महानगरपालिका– ७ घारीपाटनस्थित नागवेली मार्गमा कोठा भाडामा बस्ने गरेको प्रहरीले जनाएको छ। हत्यापश्चत डेरामा श्रीमती र छोरालाई छाडेर उनी फरार भएका थिए ।
सुकुको हत्याको क्लु मत्युअघि प्रयोग गरेको आइफोन १३ प्रोम्याक्सले खुलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रनाउ बसन्त कुमार शर्माले बताए । शर्माका अनुसार सुकुको मृत्युपश्चात मोबाइलको खोजतलास गरियो। ‘अनुसन्धान गर्ने क्रममा राजेश बुढाथोकीलाई सञ्जयले ४० हजार ५ सय रुपैयाँमा बेचेको खुल्न आयो। त्यहाँबाट अनुसन्धानको मेन लिंक भएकाे प्रहरीकाे भनाइ छ ।
महोत्तरीको बर्दीवास नगरपालिका–७ का २६ वर्षीय बुढाथोकीको साथबाट केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको टोलीले आइफोन फेला पारेको हो। बुढाथोकीलाई पक्राउ गरेर अनुसन्धान गर्दा सञ्जय विकको बारेमा पत्ता लागेको डिएसपी शर्मा बताउँछन्।
प्रहरीले सञ्जयको डेराबाट द नर्थ फेस लेखेको निलो रङको ज्याकेट र पोको फोन बरामद गरेको छ। सुकुसँग होटलमा गएको बेला पनि उनले टोपीसहितको द नर्थ फेस लेखेको निलो रङको ज्याकेट पहिरिएका थिए।
पोको मोबाइल बरामद गरेर अनुसन्धान गर्दा प्रहरीले सुकु विकको मोबाइल नम्बर, स्क्रिनसर्ट गरी राखेको तस्बिर, आइफोन समातेर खिचेको तस्बिर फेला पारेको जनाएको छ। यस्तै, मृतकको सुनको सिक्री र मुन्द्रासमेत सञ्जयले बिक्री गरेको खुलेको हो।
मृत्यु हुनुभन्दा अघिल्लो साँझ सुकुसँग युनिक होटलमा जाने सञ्जय भनेर होटल सञ्चालक, देख्ने साथी र आफन्तले सनाखत गरेका छन्। प्रहरी बयानमा सञ्जयले हत्या गरेको स्वीकार गरेका छन्।
साथीमार्फत सुकु र सञ्जयको चिनजान भएको हो। चिनजानको छोटो समयमा नै उनीहरुको भेट भएको प्रहरीले जनाएको छ। सिरानीले नाकमुख थुनेर घाँटी थिचेर हत्या गरेको पोष्टमार्टम रिपोर्टले देखाउँछ।
आइफोन र सिक्रीको लोभले हत्या भएको प्रहरीको अनुमान छ। ‘होटलको कोठासम्म यिनीहरु पुग्छन्। होटलमा पुगिसकेपछि उसले (सञ्जय) ठूलै सिक्री देख्यो। मोबाइल पनि आइफोन १३ प्रो म्याक्स देख्यो। ऊ त अपराधिक मनोवृत्तिको मान्छे। सामान्य मजदूरी गर्ने मान्छेले दुई तीन लाखको सामान देख्यो। लोभिएर हत्या भएको हुनसक्छ’, । हत्याको साविते बयान दिए पनि अनुसन्धानकै क्रममा रहेको र मृतक सुकु र हत्यारा सञ्जयबीच बिहेको कुरासमेत चलेको खुलेको प्रहरीले बताएको छ ।
यसअगाडि पनि विक चोरी र अभद्र व्यवहार कसुरमा समातिएका थिए। २०७२ असार १९ गते जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी कसुरमा मुद्दा चलाएको थियो। यस्तै, २०७३ भदौ १ गते वडा प्रहरी कार्यालय बैदामले अभद्र व्यवहार कसूरमा मुद्दा चलाएको प्रहरीको अभिलेखमा देखिएको छ।
























