भत्किन थाले दमाैलीका घर:

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको दमौली बजारका घर हरू धमाधम भत्काउन थालिएको छ ।

व्यास नगरपालिका–२ वडा कार्यालयमा आइतबार भएको अनौपचारिक छलफलमा स्थानीयले यथाशक्य चाँडो सडक किनारमा पर्ने आफ्ना घर भत्काएर कामलाई तीव्रता दिन सहमति जनाए सँगै घरहरू धमाधम भत्काउन सुरु गरिएको हाे ।



जसअनुसार तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्र सहित ज्याेति कुमार श्रेष्ठ र सिंह बहादुर दरैले आफ्नाे घर भत्काउन थालेका छन्

व्यास नगरपालिका–२ मुख्यचोकका धरधनी मिश्रले फागुन १ गते आफैँले आफ्नो घर भत्काउन सुरु गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । प्रतिवद्धता अनुसार नै मिश्र लगायतले घर भत्काउन सुरु गरेका हुन् । दमाैलीका घरहरू नभत्काउँदा सडक विस्तारकाे काम लामो समय राेकिइराखेकाे थियो ।


मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले यो खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीका संरचना हटाउन विलम्ब भएको अवस्थामा घर हरू भत्किन सुरु भएकोमा खुसी हुँदै अब कामले गति लिने बताए । उनका अनुसार दमौली बजारका ७४ घर भत्काइने र यस मध्ये ४५ जनाले पहिलो किस्ता बापतकाे रकम बुझिसकेका छन् ।
























