म्याग्देकाे वर्च्याङमा अतिथि सत्कार तथा हाेमस्टे व्यवस्थापन तालिम:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ वर्च्याङमा अतिथि सत्कार तथा हाेमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
उर्जा तथा वातावरण नेपालको आयोजना, म्याग्दे गापा र विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग एवं सम्पदा नेपालको सहजीकरणमा अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरूङले बताए ।



गाउँमा आउने आन्तरिक एवं वाह्य पर्यटकहरुका लागि सहज बसोबासको व्यवस्थापनगरी गाउँका ऐतिहासिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक एवं पुरातात्विक स्थल तथा सम्पदाहरुको बारेमा जानकारी दिने र पर्यटकलाई सुलभ, सरल र सहज वातावरणमा स्थानीय परिकार, रितीरिवाज, कलासंस्कृतिका साथै रहनसहनको उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ तालिम प्रदान गरिएको अध्यक्ष गुरूङले जानकारी दिए । तालिम पश्चात् स्थानीयबासी वर्च्याङ सामुदायिक होमस्टेको पूर्वाधार विकासमा थप सशक्त भएर जुटेका छन् । गाउँका प्राय सवै घरधुरीको तालिममा सहभागिता रहनेगरी कार्यक्रम गरिएको थियो ।



८० घरधुरी रहेको सात सय मानहुँ अन्तर्गत पर्ने विशुद्ध मगर गाउँमा वर्च्याङ पर्दछ । तनहुँको सदरमुकाम दमौलीबाट सात कि.मि.कालोपत्रे सडक हुँदै सजिलै पुग्न सकिने वर्च्याङ सायद तनहुँ जिल्लाको सवैभन्दा वढि मौलिक घरहरु संरक्षित रहेको गाउँ हो । समुन्द्र सतहबाट करिव ९५० मि. उचाईमा रहेको यस गाउँबाट दृश्यावलोकन गर्न सकिने धवलागिरी, अन्नपूर्ण र मनास्लु हिमश्रङ्खला, नजिकैको मानहुँकोट अवलोकनका साथै सुन्तलाका लागि जिल्लाभर अग्र स्थान राख्ने यस क्षेत्रले कृषि तथा पशुपालनका लागि मात्र नभइ ग्रामीण पर्यटनका लागि समेत प्रचुर सम्भावना वोकेको छ ।

कलाकारद्धय प्रकाश दुतराज र मेलिना राईको लोपोन्मुख आदिवासी जनजाति राउटे जातिको जीवनशैलीमा आधारित वहुचर्चित गीत रिमै पश्चात अर्को लोकप्रिय गीत जुन माया (चुड्का) छायाँङ्कन भएको गाउँ पनि वर्च्याङ नै हो । मानहुँकोटले थेक्नै नसक्नेगरी (स्पिल ओभर) आउने आन्तरिक एवं वाह्य पर्यटक लक्षित गरेर पनि यहाँका स्थानीयलाई तालिमको आयाेजना गरिएको हाे । तालिम पश्चातकाे गाउँ भेलाले २ वर्षे एकीकृत पर्यटन विकास तथा व्यवस्थापन योजना निर्माणगरी सर्वसम्मत पारित समेत गरेको अध्यक्ष गुरूङले जानकारी दिए ।
























