गण्डकी प्रदेशमा भाेलि ( आइतबार ) यातायात बन्द हुने
गण्डकी प्रदेशमा यातायात व्यवसायीले भोलि (आइतबार) कुनैपनि सार्वजनिक सवारी साधन (कालो प्लेट) सडकमा ननिकाल्ने निर्णय गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै तत्काल खारेज गर्न ४८ घण्टे अल्टिमेटम दिएका थिए । उक्त म्याद सकिएसँगै गण्डकी प्रदेश सरकारले व्यवसायीको पक्षमा कुनै निर्णय नगरेको भन्दै आइतबार यात्रुबहाक र मालवहाक सवारी साधन घर तथा ग्यारेजमा थन्काउने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले जानकारी दिएको छ ।

सरकारले व्यवसायीकाे माग पूरा नगरेकोले भोलि सार्वजनिक सवारी साधन ठप्प गर्न र काउन्टर नखाेल्न निर्देशन आएकाे बस व्यवसायी समिति दमाैली स्थित कर्मचारी कृष्ण केसी नागिलाले बताए । भोलिपनि केही सकरात्मक जवाफ आएन भने प्रदेशदेखि देशभरी नै अनिस्चितकालिन रुपमा गाडीहरु घर र ग्यारेजमा थन्काउने समेत उनलेे जानकारी दिए ।
निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।
यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।
























