हजारौंको उपस्थितिमा म्याग्देमा ३० औ विश्व आदिवासी दिवस मनाइयो
३० औ विश्व आदिवासी दिवस तनहुँकाे म्याग्देमा हजारौंको उपस्थितिमा मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद म्याग्देकाे आयाेजनामा पहिलोपटक म्याग्देमा भएको कार्यक्रमकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले राष्ट्रिय भाषा पढ्न छाेडेर बिदेशी भाषा ल्याउँदा भाषा लाेपहुन सक्ने बताए । भाषा , संस्कृतिकाे जगेर्ना गर्न सबै जातजाति लाग्नुपर्ने श्रेष्ठको भनाइ थियो । गाउँपालिकाले म्याग्दे २ जामुने आयुर्वेदिक नजिकैकाे ठाउँमा आदिवासी जनजाति सांस्कृतिक संग्रहालय राख्ने उद्धेश्यले डिपीआरकाे काम अगाडि बढाएको उनलेे जानकारी दिए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले दिवस मनाउन गाउँपालिकाले सार्वजनिक बिदा दिएको बताए । हरेक जातीले भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा घिमिरेकाे जाेड थियो ।
उक्त अवसरमा म्याग्दे गाउँपालिकाका निवर्तमान अध्यक्ष मायादेवी रानाले आदिवासी जनजातिको एकता, ज्ञान सीप लगायतका बिषयमा बाेलेकी थिइन् । निवर्तमान अध्यक्ष रानाले आफ्नाे पालामा पर्यटकीय गन्तव्य बनाउने उद्धेश्य राखी जामुने नजिकै साँस्कृतिक संग्रहालय राख्न बजेट छुट्याइ प्राविधिक ल्याएर काम अगाडि बढाएको जानकारी दिइन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका पुर्व अध्यक्ष एवम् सल्लाहकार हरि सिँ गुरूङले नेपालभर मात्रै नभइ याे दिवस विश्वभर मनाइने गरेको बताए । नेपाली भाषा सँगै आफ्नाे छुट्टै अन्य भाषा समेत बुझ्ने र बाेल्ने गर्दा भाषाकाे संरक्षण हुने गुरूङले बताए । परापुर्वकाल देखि बस्दै आएकाे समुदायलाई आदिवासी भन्ने गरेको भन्दै गुरूङले भाषा भनेको ज्ञान भएको हुनाले भाषाको संरक्षण गर्दै सम्मान गर्नुपर्नेमा उनलेे जाेड दिए ।

कार्यक्रममा नेपाल मगर संघ म्याग्देका अध्यक्ष नरसिंह राना , एकल महिला समूह म्याग्दे अध्यक्ष धनमाया आले , भुजेल समाज म्याग्देका अध्यक्ष नुक्त भुजेल , नेवा म्याग्देका उपाध्यक्ष चन्द्र कुमार मल्ल लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए ।
आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद म्याग्देका अध्यक्ष पदमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष आशा गुरूङले स्वागत र सचिव जानकी थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा आदिवासी जनजाति समुदाय बाट एसइइमा उत्कृष्ट नम्बर ल्याउने बिद्यार्थी तथा विभिन्न उच्च पदमा जागिर खाने व्यक्तिहरू लाई सम्मान गरिएको थियो ।
























