चिया बगान बनाउने याेजना सहित ऋषिङकाे दुबुङमा हजारौं चियाका बिरुवा लगाइयो
तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङ स्थित भ्यूटावर परिसर क्षेत्रमा एक हजार पाँचसय चियाका बिरुवा लगाइएको छ । इलामबाट ल्याइएको चियाको बिरुवा पहिलो पटक परीक्षणको रुपमा सात रोपनी क्षेत्रफलमा लगाएको हो । समुन्द्री सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा रहेको यस स्थानमा इलामको जस्तै चिया बगान बनाउने योजना सहित अभियान अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।

करिब एक सातादेखि बिरुवा लगाउनका लागि खाडल खन्ने काम पूरा गरी बिहीबार बिरुवा लगाइएको गाउँपालिका प्रवक्ता बिजय दरैले बताए ।

सुरुमा परीक्षणको रुपमा लगाएको बिरुवा पछि “चिया खेती राम्रो भएमा अन्यत्र स्थानमा पनि बिस्तार गर्दै लैजाने योजना रहेको प्रवक्ता दरैले बताए ।
गाउँपालिकाले थालेको यस अभियानमा खाडल खन्ने लगायतका कार्यमा स्थानीयबासीले देखाएको सक्रियताले गाउँपालिकालाई थप हौसला मिलेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले यस स्थानमा घरबास,पोखरी निर्माण,चिल्ड्रेन पार्क, सिढी निर्माण लगायतका संरचना निर्माण गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
चियाको बिरुवा,मल,खाडल खन्ने र ढुवानी समेत गरी करिब दुई लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
“एउटा बिरुवाका लागि झण्डै आठ किलोग्राम मल आवश्यक पर्ने रहेछ ।” भन्दै श्रेष्ठले “खाडल खन्ने कार्यमा स्थानीयले स्वस्फुर्त श्रमदान गरेकाले सोचे अनुरुप खर्च भएको छैन् ।” उक्त अवसरमा गापा उपाध्यक्ष गिनुमाया थापा , वडा अध्यक्ष भिमबहादुर थापा , काङ्ग्रेस नेता माेहन गिरी , एमालेका युवा नेता कविराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
























