बन्दिपुरमा आज साँझ बाघजात्रा हुँदै

बन्दिपुरमा आज साँझ बाघजात्रा हुँदै


 तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा आज साँझ बाघजात्रा हुने भएको छ । खड्गमाई सांस्कृतिक समूहको आयोजनामा आज साँझ बन्दिपुरमा बाघजात्रा हुन लागेको हाे ।
हरेक बर्ष निकालिँदै आएकाे बाघजात्रा यस पटक पनि निकाल्न लागिएको खड्गमाई सांस्कृतिक समूहका सचिव सुजन श्रेष्ठले बताए । सचिव श्रेष्ठले संस्कृति संरक्षणका लागि बाघजात्रा निकाल्न लागिएको जानकारी दिए ।

बाघजात्राका लागि स्थानीय समुदायले दिउँसो बजारमा निम्तो बाँडेका थिए । बाजागाजासहित बाघको मुकुण्डो लगाएर उनीहरुले बाघजात्रा हेर्न आउन सर्वसाधारणलाई आग्रह गरेकाे खड्गमाइ साँस्कृतिक समुहका अध्यक्ष गेहेन्द्र कायस्थले बताए ।

बन्दिपुरमा खासगरी दुई दिन बाघजात्रा निकालिने गरेको भए पनि यसपटक भने एकदिन मात्रै निकाल्ने तयारी छ । पहिलो दिनमा बाघ छट्याएर हिँड्ने, दुःख दिने गर्छ भाेलिपल्ट सिकारीले लखेटेर बाघलाई मार्ने बन्दिपुर पर्यटन बिकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । अघिल्लो दिन चाहिँ बाघले दुःख दिने, छट्याउने गर्छ भने भोलिपल्ट सिकारीले बाघ मारेर राजालाई बुझाउने गर्दछ ”, प्रधानले भने । 
    
बाघजात्रामा बाघ, डाक्टर, नर्स, सिकारी, पहलवान, राजाको भूमिकामा बन्दिपुरका नेवार समुदायका व्यक्तिहरुले अभिनय गर्नेछन् । 

भक्तपुरका नेवारसँगै भित्रिएको थियो बन्दिपुरमा जात्रा

आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दिपुर बसाइँसराइ गरी आएका थिए । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दिपुरलाई थातथलो बनाए । भक्तपुरबाट उनीहरुमात्रै बन्दिपुर आएनन्, सँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो ।

सन् १७६८ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरु बन्दिपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दिपुर छिरेका भक्तपुरका नेवारहरुकै कारण बन्दिपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।

त्यहीबेलादेखि नै बन्दिपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आएको अध्यक्ष प्रधानले बताए “भक्तपुरबाट बन्दिपुरमा नेवार मात्रै छिरेनन्, जात्रा र संस्कृति पनि छि¥यो । उनीहरुले बन्दिपुरमा व्यापार मात्रै गरेनन् । पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आएका छन्”, प्रधानले भने । 

बन्दिपुरका नेवारहरुले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । “हाम्रा पुर्खाहरुले मनाउँदै आएका पर्व र संस्कृति बिर्सने कुरा हुँदैन, प्रत्येक वर्ष त्यसलाई निरन्तरता दिँदै आएका छौँ”, उनले भने ।

बन्दिपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसै कारण बन्दिपुरको नामकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डि भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ । 

बन्दिपुर बजारमा मात्रै एक सय ४० घरधुरी नेवार समुदायको छ । बन्दिपुरमा भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । यहाँ नेवार समुदायले बिस्केट जात्रा, लाखे नाच, गाईजात्रा, बाघ जात्रा, रोपाइँ जात्रालगायत मनाउँदै आएका छन् । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page