भानुमा भएको तीज गीत प्रतियोगितामा दिदीबहिनी समूह बाईसजाँगर प्रथम
तनहुँको भानु – १ भन्सारमा भएको खुल्ला तीज गीत प्रतियोगितामा दिदीबहिनी समूह बाईसजाँगर प्रथम भएको छ । प्रथम बने सँगै दिदीबहिनी समुहले ३५ हजार नगद र प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगितामा गरमबास मोई समूह दमौली द्धितिय , भानु हरियाली कृषक समूह र पूर्कोट ल्याण्ड स्टार बोर्डिङ स्कूल बाईसजाँगर तृतीय भएका छन् ।
यस्तै जनजागृति तालदेवी महिला समूह र पूर्कोट युनेस्को क्लबले सान्त्वना स्थान प्राप्त गरेका छन् । द्धितिय हुने समूहले २५ हजार र प्रमाण–पत्र, तृतिय हुने २ समूहले १०÷ १० हजार र प्रमाण–पत्र, सान्त्वना हुने दुई समूहले ५ ÷ ५ हजार र प्रमाण–पत्र प्राप्त गरेका छन् । उत्कृष्ट नृत्य तर्फ चण्डेश्वरी आमा समूह भानु ४ तिलाहारकी सोनिका रानाभाटले ५ हजार नगद र प्रमाण–पत्र प्राप्त गरेकी छन् ।
भानु नगर उद्योग वाणिज्य संघ , महिला उद्यमी विकास समितिको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवशरमा शनिबार भानु –१ भन्सारको ग्रीनपार्कमा प्रथम खुल्ला तीज गीत प्रतियोगिता भएको थियो ।

भानु महिला उद्यमी विकास समितिकी सभापति पुनम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले प्रतियोगिताको समुद्घाटन गर्दै देशको कला , सँस्कार सँस्कृति जगेर्ना गर्न नेपाली पर्वहरु कोशेढुँगा भएको बताए । कार्यक्रममा उप–मेयर उमा गोतामेले गाउँघरमा भएका प्रतिभाहरुलाई प्रस्फुटन गराउँदै मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरेकी थिइन् ।
























