ऋषिङकाे वार्षिक विकास याेजना पुस्तक सार्वजनिक

तनहुँकाे ऋषिङ गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक विकास योजना पुस्तक सार्वजनिक गरिएको छ ।
मंगलबार एक कार्यक्रमका बीच प्रमुख अतिथी सांसद शंकर भण्डारीले पुस्तकको विमोचन गरेका हुन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै सांसद भण्डारीले ऋषिङ गाउँपालिकाको छुट्टै पहिचान र इतिहास रहेको हुँदा त्यसलाई स्वदेश तथा विदेशमा प्रचार –प्रसार गर्नुपर्नेमा जोड दिए । खासगरी ऋषिङ कला र संस्कृतिमा निकै धनी रहेको हुँदा ऋषिङकाे कला संस्कृतिलाई आम्दानी स्रोतसँग जोड्नु पर्ने सांसद भण्डारीको भनाई थियो ।
ऋषिङ गाउँपालिकाको खानेपानी ,सडक ,शिक्षा ,स्वास्थ्य लगायतका विषयमा विशेष ध्यान दिएको समेत सांसद भण्डारीको भनाई रहेको थियो । कानुनी अड्चनका कारण श्रृङपथ र कृष्ण मार्गको निर्माण कार्य रोकिएको विषयप्रति आफू अत्यन्त चिन्तित रहेको र यस विषयमा संसदको पूर्वाधार विकास समितिमा आफूले पटक–पटक कुरा राख्दै आएको सांसद भण्डारीले जानकारी दिए ।

श्रृङ पथ र कृष्ण मार्गको विषयमा छिट्टै निर्णय हुने अपेक्षा आफूले गरेको भन्दै समेत सांसद भण्डारीको भनाई थियो । ऋषिङ गाउँपालिका लगायत जिल्ला भित्रका अलपत्र योजनाहरुको बेलैमा काम सम्पन्न गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने सांसद भण्डारीले बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङ गाउँपालिकाको मुहार फेर्नका लागि आफू प्रतिवद्ध भएर लागि परेको बताएका थिए । ऋषिङबासीलाई सर्व सुलभ ढंगले सेवा प्रदान देखि विकास निर्माणका विषयमा विशेष ध्यान दिइएको अध्यक्ष श्रेष्ठको भनाई रहेको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । सोही अवसरमा तीज प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
यसैगरी सांसद भण्डारीले मंगलबार कोटदरबार स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् ।
सांसद भण्डारीले मंगलबार एक कार्यक्रमका बीच स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास समारोहमा बोल्दै सांसद भण्डारीले स्वास्थ्य चौकी भवन निर्माण सँगै कोटदरबार आसपासका क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज हुने बताएका थिए । ऋषिङबासी स्वास्थ्य शिक्षा ,खानेपानी , सडक निर्माण गर्ने विषयमा आफू अत्यन्त चिन्तित रहेको समेत सांसद भण्डारीको भनाई रहेको थियो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाबासीलाई घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा आफू अत्यन्त सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुले समेत बोलेका थिए ।
























