हाम्रा सभापतिलाई समाते एकजुट भएर उत्रिन्छौँ : स्वर्णीम
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ। चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको रास्वपाको टोलीले सो कुरा बताएको हो।


विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको बताए। उनले पार्टीको सभापति व्यक्ति नभई संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरु स्वदेश फर्किएको बताए। उनले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाए।

उनले भने, ‘यो भ्रमणलाई हामीले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ। ९ दिनको हाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ। आज ८ जना आएका छौँ। भोलि ६ जना आउनुहुन्छ।’
सांसद मनिष झाले पार्टी सभापतिले सहकारीमा आफैँ व्यक्तिगत रुपमा उपस्थित र संलग्न भएर रकम नलिएको प्रतिवेदनले स्पष्ट पारिसकेको बताए। उनले ४१ वटा कम्पनीमा ८७ अर्ब रकम सहकारीबाट आएकोतिर ध्यान नभई त्यसमध्येको एउटा मात्रै कम्पनीमा सभापति लामिछानेलाई लक्षित गरेर मात्रै प्रहार भइरहेको बताए। उनले रवि लामिछाने जोडिएको कम्पनीको पछाडि मात्रै अनुसन्धान केन्द्रित भएको भन्दै आपत्ति जनाए।
उनले भने, ‘सहकारीमा आफैँ व्यक्तिगत रुपमा उपस्थित भएर संलग्न भएर रकम लिएको छैन भन्नेकुरा प्रतिवेदनले स्पष्ट पारिसकेको छ। कसैले पहिलो पाटोमा राजनीति नगरे हुन्छ। आफ्नो राजनीतिक भविष्य कतै जोखिममा छ की भनेर धेरै कथाहरु नबुने पनि हुन्छ। अर्को पाटोमा हेर्दा एउटा व्यपारीले व्यापार गर्दै गर्दा ४१ वटा कम्पनीमा लगानी भित्र्याएको छ। सहकारीको पैसाबाट। त्यसमा ४० वटा कम्पनी अरु कुनै दललाई मतलव छैन। एउटै कम्पनीको पछाडि लागेको छ। त्यो रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र पूर्वगृहमन्त्री हुनुहुन्छ। त्यसैले । ८७ अर्ब छ नि कसैलाई केही मतलव छैन । २/४ करोडको पछि लागेर ८७ अर्ब छोड्ने चलखेल त होइन भन्ने आशंका छ।’
उनले २/४ करोडको पछि लागेर ८७ अर्ब छोड्ने चलखेल हुन लागेको भन्दै आशंका व्यक्त गरे। पाँच दिनअघि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेको १४ सदस्यीय टोलीमध्ये ८ जना आज स्वदेश फर्किएका हुन्।
थाहा खबर बाट
























