व्यास नगर समता विद्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

व्यास नगर समता विद्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो।

नगरप्रमुख न्यौपानेको विशेष इच्छाशक्ति र प्रतिबद्धताले स्थापना भएको विद्यालयमा दसैं , तिहार लगायतको चाडपर्वकाे अवसर पारेर शुभकामना आदानप्रदान गरिएको हाे । प्रमुख न्याैपानेकाे लामो शैक्षिक अनुभव र सामाजिक जिम्मेवारीप्रतिको गहिरो समर्पणले व्यास नगरपालिकाका विपन्न र अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा र आवासको व्यवस्था गर्न यो विद्यालय खोल्ने पहल गरिएको थियो । “म आफैं शिक्षा क्षेत्रबाट आएको भएकाले समाजका असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा दिन यो विद्यालयको स्थापना गरेको हुँ,” नगरप्रमुख न्यौपानेले बताए ।

हाल विद्यालयमा ५५ जना विद्यार्थीहरू अध्ययनरत छन्, जो सबै आर्थिक रूपमा कमजोर र अभिभावकविहीन बालबालिका हुन्। ती विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक खर्च, आवास, र भोजनको व्यवस्था व्यास नगरपालिकाले गरिरहेको छ। नगरप्रमुख न्यौपानेले विद्यालयलाई थप सशक्त बनाउन र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा शिक्षा अधिकृत नवीन पराजुली, वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद नौपाने, शिक्षक, स्थानीय समाजका अगुवाहरू, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद नौपानेले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page