हाइवेका हाेटलमा अनुगमन , भान्सा सफा राख्न निर्देशन
चाडवाडको मौकामा यात्रुको चाप बढेसँगै पृथ्वी राजमार्गका हाइवे होटलमा आज अनुगमन गरिएको छ ।
हाेटलमा खानेकुराको मनोमानी रकम लिने, प्याकेटका खानेकुरामा उल्लेख भएको अधिकतम खुद्रा मूल्य (MRP) भन्दा बढी मूल्य तिर्न बाध्य पार्ने, गुणस्तरीय सेवा नदिने, सेवाग्राहीसँग झर्कोफर्को गर्ने लगायतका उजुरी गुनासो बढेसँगै अनुगमनको लागि गएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्याेती आचार्यले बताए ।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँ, थर्पु प्रहरी चौकी तथा गाउँपालिका जनप्रतिनिधि, कर्मचारीको संयुक्त बजार अनुगमन गरिएको प्रमुख आचार्यले जानकारी दिए । अनुगमन टोलीले म्याग्दे गाउँपालिका वडा नं. ०१, 0२ र ०३ का यात्रुहरुको बढी नै चाप हुने हाइवे होटल तथा खाजा घरहरुमा आकष्मिक अनुगमन निरीक्षण गरेको थियो ।

अनुगमन गरिएका व्यवसायको मुख्य समस्याको रुपमा पर्याप्त किचनको संरचना र सरसफाइमा ध्यान नदिएको, जुठा भाँडा मोल्ने ठाउँलाई किचनसँगै जोडेर बनाएको, ग्राहकले सजिलै देख्ने गरी खानेकुराको मूल्य नराखेको लगायतका कमजोरी रहेकाे पाइएको छ । टोलीका प्रमुख सहायक प्र.जि.अ.काे टाेलीले प्याकेटका खानेकुरामा अंकित अधिकतम खुद्रा मूल्य (MRP) भन्दा बढीमा बिक्री नगर्न र अन्य खानेकुरामा पनि बजार भाउ अनुरुप चल्दो मिल्दो रुपमा उपभोक्ता मारमा नपर्ने गरी मूल्य निर्धारण गर्न तथा सेवाग्राही मैत्री व्यवहार गर्न सचेत गराएको छ ।
टोलीले अनुगमनको क्रममा फेला पारेका म्याद नाघेर खान अयोग्य भएका अन्दाजी २५००/- बराबरका वस्तु तत्काल नष्ट गरेको छ भने अधिकांश व्यवसायीलाई टोलीले दिएको निर्देशन पालना गर्न ७ देखी ३० दिन सम्मको समय सिमा दिएको छ। गम्भीर उजुरी गुनासो रहेको होटल संचालकलाई ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन सूचित गरिएको छ। आज अनुगमन गरिएको व्यवसायहरुमा होटल फोरेष्ट भ्यु, बाराही हाइवे रेष्टुरेन्ट, पोखरा हाइवे रेष्टुरेन्ट एंड खाजा घर, रबिना रेष्टुरेन्ट एंड खाजा घर, सफल होटल, समी एंड समिक खाजा घर, सरिता रेष्टुरेन्ट लगायतका रहेका छन्।

























