मीनबहादुरले दिएको जग्गा दान लिनु भ्रस्टाचारकाे पक्षपोषण – ट्रान्सपरेन्सी इन्टरनेशनल

मीनबहादुरले दिएको जग्गा दान लिनु भ्रस्टाचारकाे पक्षपोषण – ट्रान्सपरेन्सी इन्टरनेशनल

ट्रान्सपरेन्सी इन्टरनेसनलले व्यवसायी मीनबहादुर गुरुङबाट एमालेले १० रोपनी १४ आना जग्गा दान लिनुले भ्रष्टाचारको पक्षपोषण भएको ठहर गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा अदालतबाट दोषी ठहर भएका र मुद्दा चलिरहेका व्यक्तिबाट जग्गा दान लिनु भ्रष्टाचारलाई पक्षपोषण गर्नु भएको बताएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले जारी गरेको विज्ञप्तिमा  मुद्धा विचारधाराधीन रहेका व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको पार्टीले जग्गा दान लिँदा लिनेजस्ता कार्यबाट राजनीतिक दल अलग रहनुपर्ने औंल्याए ।

एमालेले केन्द्रीय कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा लिएको र सोही जग्गामा दाताबाटै भवन निर्माण गरेर सोसमेत दान लिने कुराप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘हाल सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान गरिएको र सो जग्गामा दाताकै तर्फबाट भवन निर्माण समेत दानको रूपमा गरिदिने भन्ने समाचारतर्फ ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दा न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ ।’

व्यवसायी गुरुङबाट त्यसरी जग्गा दान लिँदा मुद्दामा प्रभाव पर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको निस्कर्ष छ ।

‘कानुनको पालना गरी/गराई सरकारी सम्पत्ति र हितको संवर्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान दातव्य लिँदा वादी/प्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकारवादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ,’ विज्ञप्तिमा छ ।

यसरी दान लिँदा स्वार्थको द्वन्द्व हुन गई सुशासनमा गम्भीर असर पर्ने भ्रष्टाचारको पक्षपोषण हुने पनि ट्रान्सपरेन्सी इन्टरनेसनलले चिन्ता व्यक्त गरेको छ ।

‘सरकारको नेतृत्व गर्ने व्यक्ति वा दलले सरकारवादी रहेको मुद्दाका प्रतिवादी व्यक्ति वा पक्षबाट सरकारको लागि होस् वा पार्टीको नाममा होस् कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार गर्ने प्रवृत्तिले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्न जाने देखिन्छ,’ ट्रान्सपरेन्सी इन्टरनेसनलले भनेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page