तरुण पुरस्कार तनहुँ प्रेसका सम्पादक नहर्कीलाई प्रदान गरिने
नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट तनहुँ प्रेस डटकमका सम्पादक अमरराज नहर्कीलाई सम्मान गरिने भएको छ ।

नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२ औ स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई सम्मान गर्ने भएको हो । नेपाल तरुण दल जिल्ला कार्यसमिति तनहुँले कात्तिक १० गते स्थापना दिवसका दिनमा पत्रकार नहर्कीलाई पुरस्कार प्रदान गरिने निणर्य भएको नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले जानकारी दिए ।

एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा गरेको थियो । सोही अनुरुप नेपाल प्रेस युनियन तनहुँको निबर्तमान अध्यक्ष समेत रहेका सम्पादक नहर्कीलाई सम्मान गर्ने निणर्य भएको अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाले भने, ‘उद्यमशिल क्षेत्रमा लागेका तरुणहरुको बारेमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुरुप नहर्कीलाई सम्मानको लागी छनोट गरिएको हो ।’ युवाहरू विदेश पलायन भईरहेको अवस्थामा युवा उद्घमीको विषयमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने नीति अनुसार सम्मान गरिने थापाले बताए ।
नगद पाँच हजार सहित सम्मानपत्र प्रदान गरिने नेपाल तरुणदल तनहुँले जनाएको छ । दुई दशक भन्दा अघि देखि तनहुँमा कार्यरत पत्रकार नहर्कीले थुप्रै मानसम्मान पाइसकेका छन् । नहर्कीले नेपाल पत्रकार महासङ्घ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखनवृत्ति पुरस्कार, जय प्राप्ति म्युजिक अवार्ड लगायत थुुप्रै पुरस्कार तथा मान सम्मान पाई सकेका छन् । नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता तथा नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुन् ।
























