तनहुँका नेताको क्षमता नहुँदा दमाैली अस्पताल स्तराेन्नतीकाे प्राथमिकतामै परेन
तनहुँकाे सदरमुकाममा रहेको दमाैली अस्पताल तनहुँका नेताहरूकाे क्षमता नहुँदा स्तराेन्नतीकाे प्राथमिकतामै नपरेको खुलेको छ । १५ शैय्या क्षमताकाे अस्पताललाई ५० शैय्यामा परिणत गर्न जग्गा अभावकाे बहाना देखाउँदै तनहुँबासीलाइ थाङ्नामा सुताएका नेताहरूले यसलाई राजनीतिकाे मागी खाने भाँडो बनाउँदै आएको तथ्य प्राप्त भएको छ ।
विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो।

त्यसवेलादेखी १५ शैयामा रहेको अस्पताल अहिलेसम्म पनि स्तराेन्नती हुन नसक्नु तनहुँका नेताहरूकाे क्षमता नभएकोले हाे भन्न सकिन्छ ।

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि रामचन्द्र पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए । दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । ०६२ सालमा कांग्रेस महामन्त्री भए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए, जुन सरकारमा माओवादी पनि संलग्न थियो । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भए ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा विजय प्राप्त गरे सँगै पाैडेल हाल राष्ट्रपति छन् । करिब ३५ वर्ष रजगज गरेका पाैडेलले दमाैली अस्पताललाई किन स्तराेन्नती गरेनन् त ? नचाहेर कि , नसकेर कि , क्षमता नभएर कि , भाेटकाे मागी खाने भाँडो बनाएर ? या तनहुँका जनतालाई हेपेर यी आदि प्रश्नहरू गम्भीर रूपमा उनिमाथी उठेका छन् ।
त्यसाेत पाैडेल बाहेक यहाँ धेरै पटक गाेविन्द राज जाेशी , शंकर भण्डारी , किसान श्रेष्ठ , सुरेश आले ,डा . स्वर्णिम वाग्ले , हरिबहादुर चुमान , रामबहादुर गुरूङ , अशोक श्रेष्ठ लगायतका नेताहरू यहाँ निर्वाचित र मन्त्री समेत भइसकेका छन् । यस्तै हाल स्वास्थ्यमन्त्रीमा तनहुँकै प्रदिप पाैडेल छन् । स्वास्थ्यमन्त्री भइसकेपछि मन्त्री पाैडेलले समेत अस्पतालकाे अनुगमन र यहाँको अवस्थाकाे बारेमा भ्रमण गरिसकेका छन् । यस्तै तनहुँबाट अमरराज कैनी , केदार सिग्देल , टुकराज सिग्देल , किरण गुरूङ , भगवती न्याैपाने , प्रकाश पन्थ , पदम परियार , जीतप्रकाश आले , आशा काेइराला , ध्रुव वाग्ले , रामचन्द्र पाेख्रेल , डाेबाटे विक , सरिता गुरूङ लगायतका नेताहरू काेही मन्त्री त काेही सांसद बनिसकेका छन् । यी सबैले दमाैली अस्पतालकाे स्तराेन्नतीकाे रटान लगाए पनि अस्पतालकाे नाममा सिन्काे भाँचेनन् ।
त्यतिमात्र हाेइन दमाैली अस्पतालमा विभिन्न समयमा मुख्य मन्त्री सुरेन्द्र पाण्डे देखि कृष्णचन्द्र नेपाली , खगराज अधिकारी , संघ तथा प्रदेश मन्त्री , सांसद , मन्त्रालयका सचिव सम्मको लर्काे लाएर भ्रमण गरेर गएका छन् । जति आएपनी सबैले तनहुँबासीलाइ आश्वासन दिए र थाङ्नामा सुताएर गएका छन् ।
अहिलेसम्म आउने प्राय सबैले जग्गा अपुग भएकोले स्तराेन्नती गर्न नसकेको भन्दै ढाँट्दै गए । तर अहिले यी सबै कुरा बुझ्दै जाँदा अन्य धेरै जालझेल रहेको बुझिएको छ । ५० शैयाकाे अस्पताल बनाउन १५ राेपनी जग्गा चाहिनेमा अहिले पनि अस्पतालसँग १५ रोपनी जग्गा छ ।
तर यहाँ अस्पताल समिति , स्थानीय जनप्रतिनिधि लगायतका यहाँका केही टाठाबाठाले ५० बेडकाे बनाउन जग्गा नपुग्ने भन्दै सबैलाई गुमराहमा राख्दै अस्पतालकाे नाममा राजनीति गर्ने र निजी अस्पतालमा लगानी रहेकाहरूले चलाउने प्रपञ्च गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भए पछि दमाैली अस्पताल आएका प्रदीप पौडेलले प्रदेशबाट जग्गाप्राप्तिका लागि स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शैय्याको बनाउने काम अघि बढाउने प्रतिबद्धता जनाएर गएका थिए ।
मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालका नाममा रहेको साढे ३ रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाएलगत्तै मन्त्रिपरिषदमा प्रस्ताव लगेर जग्गा दिलाउने बताएर गएका थिए ।
दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे जानकार रहेको बताएर गएका मन्त्री पाैडेलकाे मन्त्री भएको सय दिन पुगेपनी आफ्नाे जिल्ला काे अस्पताललाई स्तराेन्नती गर्ने सवालमा पछि परेका छन् ।
कृषि ज्ञान केन्द्रको २ रोपनी र भेटेरिनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको बताइएको अवस्थामा सोही जग्गा प्रदान गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयले स्वीकृति दिए पनि प्रदेश र संघीय मन्त्रिपरिषदमा यससम्बन्धी प्रस्ताव नगएको श्राेतले बताएको छ ।
मन्त्रिपरिषदबाट अस्पताललाई जग्गा प्राप्तिको निर्णय गराउन पहल गर्ने बताएका मन्त्री पौडेलले जनशक्ति र पूर्वाधारका लागि यसै वर्ष काम थाल्ने प्रतिबद्धता समेत जनाएर गएका थिए ।
यता व्यास नगरकार्यपालिकाको बैठकबाटै कृषि र भेटेरिनरी अस्पतालकाे जग्गा सम्बन्धमा निर्णय गराएर सरकारलाई आग्रह गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेकाे अघिल्लो कार्यकालमै बताइएको थियो । दमौली अस्पताल व्यवस्थापनका लागि सिमाना जोडिएको केन्द्रको जग्गा र भवन अस्पताललाई उपलब्ध गराएर कृषि ज्ञान केन्द्रलाई अन्यत्र व्यवस्थापन गर्न अनुरोध गरेकाे तत्कालीन समयमा व्यास नगरपालिकाले बताएको थियो ।“दमौली अस्पताल र कृषि ज्ञान केन्द्र प्रदेश मातहतको कार्यालय भएकाले सरकारले चाहे यो सम्भव छ।” उसले भनेको थियो ।
यी सबै सम्भावना भएको भए पनि बिषय घुम्दै आउँछ तनहुँका नेताको चाहना , इच्छाशक्ति र क्षमतामा । अहिले पनि गण्डकी प्रदेशले प्रदेशका मुख्य मन्त्री रहेको गाेर्खा र स्वास्थ्यमन्त्री रहेको बाग्लुङ जिल्लालाई प्राथमिकतामा राखेपछि क्षमताको बिषय पटकपटक दाेहाेरीएर आएकाे हाे । गृह जिल्ला बागलुङका स्वास्थ्य मन्त्री र गृह जिल्ला गाेर्खाका मुख्य मन्त्रीले अहिले जिल्लामा ठुलो क्षमताको अस्पताल बनाउन बजेट त्यहीँ हाल्ने र त्यसकाे जस लिइ ०८४ मा संघमा उठ्ने रणनीतिले गर्दा तनहुँकाे अस्पताल प्राथमिकतामै पर्न नसकेको बिश्वस्त श्राेतले बताएको छ । यसले पनि तनहुँका नेताहरूकाे क्षमतामा प्रश्न उठाएको छ ।
























