तनहुँमा पाडी , बाछी हुर्काउन भेटेरेनरी अस्पतालकाे अनुदान

तनहुँमा पाडी , बाछी हुर्काउन भेटेरेनरी अस्पतालकाे अनुदान

गण्डकी प्रदेश सरकारले गतवर्ष तनहुँमा पाडी र बाछी हुर्काउन रु.६०  लाख ४० हजार अनुदान वितरण गरेको छ ।  कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चार वटा पाडी–बाछी हुर्काउन १० हजार रुपैयाँका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । 
आर्थिक बर्ष २०८०÷०८१ मा ३ सय ३१ आवेदन परेकाे मध्ये छनोटमा परेका तीन सय २७ किसानले अनुदान पाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।  
विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएपछि कार्यक्रम प्रभावकारी बन्दै गएको केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए ।

पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष छ सय चार वटा पाडी–बाछीका लागि बजेट विनियोजन गरिएकाे ठकुरीले बताए ।
गतबर्षको तुलनामा यस चालु आवमा तीन सय वटा पाडी बाच्छी हुर्काउनका लागि बजेट बिनियोजन भएको छ भन्दै उनले “बजेट घटेर आएका कारण यसबर्ष पाडी–बाच्छी हुर्काउने संख्यामा कमि आएको जानकारी दिए ।
पाडी–बाच्छी हुर्काउनका लागि अनुदान पाउन यसबर्ष आवेदन खोलिसकेको र किसानबाट आवेदन आउने क्रम जारी रहेको प्रमुख डा.राजेशकुमार चौधरीले जानकारी दिए । यसबर्ष करिब रु.३० लाख बजेट विनियोजन भएको सो केन्द्रले जनाएको छ । 


जिल्लाका दश वटा पालिकामध्ये सबै भन्दा धेरै बन्दीपुरमा दुई सय २१,व्यास नगरपालिकामा दुई सय आठ,आँबुखैरेनीमा ८४,भानुमा ४५,म्याग्देमा २५,देवघाटमा १२,शुक्लागण्डकीमा आठ र ऋषिङमा एक वटा छनोटमा परेको थियो । 
आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइएको थियो, “एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडी÷बाछीका लागि अनुदान पाउने   छन् ।”
अनुदान पाउनका लागि पाडी–बाछीको उमेर एक वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड रहेको केन्द्रले जनाएको छ । बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडी–बाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिइएको केन्द्रका प्रमुख चौधरीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page