माहेन्द्री मावि गजाैडेले पुस १ गते स्वर्ण जयन्ती मनाउने
तनहुँकाे व्यास नगरपालिका वडा नं ९ गजाैडे झिनुवाटार स्थित माहेन्द्री माध्यमिक बिद्यालयले आगामी पुस १ गते स्वर्ण जयन्ती मनाउने भएको छ ।
बिद्यालयका प्रधानाध्यापक अमृत बहादुर थापाका अनुसार विविध कार्यक्रमकाे आयाेजना गरी स्वर्ण जयन्ती भब्य रूपमा मनाउनकाे लागि तयारी अगाडि बढाइएको छ ।

स्वर्ण जयन्तीका अवसरमा स्मारिका प्रकाशन , रक्तदान कार्यक्रम , विभिन्न क्षेत्रका व्यक्तिहरूलाइ सम्मान , शैक्षिक अन्तरक्रिया , दाैड प्रतियोगिता सहित सराेकारवालाहरू सँग शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल लगायतका कार्यक्रम गरिने प्रअ थापाले बताए ।
स्वर्ण जयन्तीका अवसरमा स्वर्ण गेट , स्वर्ण स्तम्भ , सरस्वतीकाे मुर्ति निर्माण जस्ता भाैतिक संरचनाका कामहरू अगाडि बढाइएको प्रअ थापाले जानकारी दिए । बिद्यालयले स्वर्ण जयन्तीको पुर्व सन्ध्यामा दमाैलीमा पत्रकार सम्मेलन समेत आयाेजना गरेको छ ।
व्यास नगरपालिका वडा नं ७ , ९ , १० र भानु नगरपालिका वडा नं १३ सहित कलेस्ती उपत्यका वरपरका बासिन्दालाई समेटेर २०३१ साल पुस १ गते स्थापना भएको उक्त बिद्यालयकाे स्वर्ण जयन्ती भब्य रूपमा सम्पन्न गर्नकाे लागि मुल समारोह समिति गठन गरिएको छ ।

नारायण दत्त पाैडेलकाे संयाेजकत्वमा १ सय १ सदस्यीय समिति र विभिन्न उपसमिति गठन गरी कामको बाँडफाँड समेत गरिएको छ । उक्त पत्रकार सम्मेलनमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु आचार्य , शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख एवम् पुर्व विद्यार्थी समाजका अध्यक्ष उद्धव राज कट्टेल , सहायक प्रजिअ जितबहादुर भण्डारी , व्यास ९ का अध्यक्ष सुरेश थापा , व्यास १० का अध्यक्ष खेमराज पाेख्रेल लगायतको सहभागीता रहेको थियो ।
























