पुस २५ गतेदेखि माघ ७ गतेसम्म तनहुँ महाेत्सव हुने

नवाैं तनहुँ कृषि , पर्यटन वस्तु तथा प्रविधि महाेत्सव
पुस २५ गते देखि माघ ७ गतेसम्म दमाैलीमा हुने भएको छ । महाेत्सवकाे बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा बताइए अनुसार
महाेत्सव व्यास नगरपालिका वडा नं ३ विपि वनवाटिकामा हुनेछ ।
तनहुँ उद्योग वाणिज्य संघकाे आयाेजना तथा तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईकाे सहआयाेजनामा हुने महोत्सवमा महोत्सवका निर्देशक एवं निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले १२ दिनसम्म सञ्चालन हुने महोत्सव आन्तरिक र बाह्य पर्यटक गरि २ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताए । त्यस्तै महोत्सवमा कृषि प्रदर्शनी , अटोमोवाइल्स , सूचना प्रविधि ,हस्तकला प्रदर्शनी ,साँस्कृतिक प्रदर्शनी , साँस्कृतिक नमूना ग्राम भ्रमण लगायतका आकर्षणहरु रहेकाे निर्देशक श्रेष्ठले जानकारी दिए । त्यस्तै महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले व्यवसायिक हितका अलवा सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्नका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष मिश्रले महोत्सव मार्फत स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइनेमा समेत जोड दिए । महोत्सवमा खाना, कृषि , अटो मोवाइल लगायतका गरि २ सय भन्दा बढी स्टलहरु रहने छन् ।

संघका अध्यक्ष मिश्रको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा निर्देशक पविन्द्रकुमार श्रेष्ठ, व्यास नगरपालिका वडा नं २का अध्यक्ष काशीराम श्रेष्ठ ,वडा नं ४का वडा अध्यक्ष मनबहादुर गुरुङ,संघका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल ,पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल र संघका महासचिव सुवोध अधिकारी लगायतले बोलेका थिए ।
























