मुख्यमन्त्री पाण्डेद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालयको स्थलगत अवलोकन तथा निरीक्षण:
फागुन- १५,
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गण्डकी प्रदेश प्रहरी कार्यालयको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखाहरु, मातहतका प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी लिएका थिए ।
निरीक्षणको क्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको समग्र शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरीक केन्द्रित प्रहरी सेवा प्रदान गर्ने, भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र सरकारबाट तोकिएका विभागिय नीति निर्देशन समेतलाई मध्यनजर राखी आ-आफ्नो जिम्मेवारी त्रुटिरहित तवरबाट सम्पादन गर्न निर्देशन दिएका थिए ।
कार्यक्रमकै अवसरमा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकास राज खनालले गण्डकी प्रदेश मुख्यमन्त्री पाण्डेको निर्देशनले आगामी दिनमा प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको बिषयमा प्रस्तुतिकरण गरेका थिए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयका सचिव तिर्थराज भट्टराई, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु , सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।




































